नुवाकोट तारकेश्वरको भूमेदेवी आधारभूत विद्यालयमा एकैदिन चार कार्यक्रम सम्पन्न
नुवाकोट,भदौ १० । तारकेश्वर गाउँपालिका–५, निग्लेनीस्थित श्री भूमेदेवी आधारभूत विद्यालयमा सोमबार एकैदिन चारवटा कार्यक्रम सम्पन्न भएका छन्। विद्यालयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको गठन, विद्यार्थीलाई दातामार्फत झोला र स्टेशनरी सामग्री वितरण, दाता सम्मान तथा तीज विशेष कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम वडाध्यक्ष अशोक लामा तामाङको प्रमुख आतिथ्यता तथा स्थानीय अभिभावक, समाजसेवी र शिक्षाप्रेमीहरूको उपस्थितिमा सम्पन्न भएको थियो। अभिभावकहरूको सर्वसम्मतिले विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा पुनः सन्तमान तामाङलाई चयन गरिएको छ भने भद्रबहादुर तामाङको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको छ।
सोही अवसरमा ललितपुरका सुरेश महर्जन, तुल्सी महर्जनलगायत महर्जन परिवारले स्व. जगतबहादुर महर्जनको सम्झनामा विद्यार्थीलाई झोला र स्टेशनरी सामग्री वितरण गरेका थिए। साथै विद्यालयलाई ड्रमसेटसहित अन्य सामग्री विद्यालयका प्रधानाध्यापक नवराज न्यौपानेलाई हस्तान्तरण गरिएको थियो। विद्यालयले दाताहरूलाई प्रमुख अतिथिको हातबाट सम्मानपत्र प्रदान गरेको थियो।
दाता सुरेश महर्जनले विद्यालयसँगको सहयोगी सम्बन्ध सुरु हुन पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । विद्यालयका प्रधानाध्यापकले सहयोगी मनहरूसँग हातेमालो गर्दै शैक्षिक स्तर उकास्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गरे ।
त्यसैगरी विद्यालयले तीज पर्वको अवसरमा तीज विशेष कार्यक्रम आयोजना गरी विद्यार्थीहरूले विभिन्न प्रस्तुति दिएका थिए। उपस्थित सबै अतिथि, दाता, अभिभावक र विद्यार्थीलाई दर कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तमान तामाङको सभापतित्वमा सम्पन्न भएको थियो।

