टी–२० अभ्यास खेलमा नेपालको दोस्रो जित
काठमाडौं,भदौ १० । नेपालले अष्ट्रेलियामा जारी टी–२० अभ्यास खेलमा स्थानीय क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध लगातार दोस्रो जित निकालेको छ । मङ्गलबार भएको खेलमा नेपालले एसिटीलाई ६ विकेटले हरायो । यसअघि मङ्गलबार नै भएको पहिलो खेलमा नेपालले एसिटीलाई ४१ रनने हराएको थियो । दोस्रो खेलमा जितका लागि ९७ रनको लक्ष्य पछ्याएको नेपालले १३.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४२ रन बनाए । गुलसन झाले २३ र आरिफ शेखले अविजित ११ रन बनाए । बलिङमा एसिटीका इसाम रहमानले दुई तथा लुइस इभन्स र देव दुबेले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एसिटी १७.२ ओभरमा सबै विकेटको क्षतिमा ९६ रन बनाएको थियो । एसिटीका लागि निक ब्रोएसले १६ रन बनाए । ज्याक केओघ, मिकी म्याकनमारा र टम होगनले १५/१५ रन बनाए । जेक स्मिथले १० रन जोडे।
बलिङमा नेपालका लागि दीपेन्द्रसिंह ऐरी र शाहब आलमले चार चार तथा कप्तान रोहितकुमार पौडेल र गुलसन झाले एक एक विकेट लिए ।
यसअघि पहिलो खेलमा लेग स्पिनर सन्दीप लामिछानेले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाल ४१ रनले विजयी भएको हो । जितका लागि एक सय ७८ रनको लक्ष्य पछ्याएको एसिटी १७.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३६ रनमा समेटिएको थियो ।
टप एन्ड टी–२० सिरिजको समूह चरणबाट बाहिरिएपछि नेपालले स्थानीय टोलीसँग अभ्यास खेल खेलेको हो ।

