नुवाकोटको तादी गाउँपालिकामा ४५० घनमिटरको ठूलो चट्टान सुरक्षित रूपमा विस्थापन



नुवाकोट, भदौ १० । जिल्लाको तादी गाउँपालिका–४ बाह्रबिसे नजिकैको बस्तीमाथि जोखिम सिर्जना गर्दै खस्न सुरु गरेको करिब ४५० घनमिटरको विशाल चट्टान सुरक्षित रूपमा विस्थापन गरिएको छ।

गत साउन २२ गते उक्त चट्टान परम्परागत स्थानबाट १०–१५ मिटर तल सरेपछि बस्तीमाथि ठूलो जोखिम उत्पन्न भएको भन्दै संघीय सांसद हितबहादुर तामाङ, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रबिक्रम ठकुरी, प्रमुख जिल्ला अधिकारीसहित जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना), स्थानीय विपद् व्यवस्थापन समिति, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकाय तथा नागरिक समाजको टोलीले स्थलगत निरीक्षण गरेको थियो।

सोहीअनुसार साउन २३ गते बसेको तादी गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले चट्टान विस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गर्ने निर्णय गरेको थियो। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा साउन २५ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले चट्टान विस्थापनका लागि माथिल्लो त्रिशुली थ्री बी जलविद्युत् आयोजना, किस्पाङ–५ लाई अनुरोध गर्ने निर्णय गरेको थियो।

सम्झौताअनुसार आयोजनाले आवश्यक उपकरण र जनशक्ति उपलब्ध गराएको र गाउँपालिकाले थप स्रोत र साधन जुटाएपछि साउन २८ गतेदेखि भदौ १० गतेसम्मको अवधिमा चट्टानलाई सकुसल सुरक्षित तरिकाले फुटाएर जोखिम न्यूनिकरण गरिएको गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले बताए ।

यस सफलतापछि सो चट्टानबाट मानव बस्तीमा कुनै जोखिम नरहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले समन्वय र सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गरेको छ।

प्रतिक्रिया दिनुहोस्