नुवाकोटको शिवपुरीमा लखनेस्वरी झर्ना महोत्सव भव्यताका साथ सम्पन्न
नुवाकोट, भदौ ११ । नुवाकोट शिवपुरी गाउँपालिका–३ र ४ को संगमस्थलमा रहेको लखनेस्वरी झर्ना परिसरमा आयोजित “लखनेस्वरी झर्ना महोत्सव” मंगलबार भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रममा शिवपुरी गाउँपालिका अध्यक्ष गोबिन्दप्रसाद थपलिया प्रमुख अतिथि, उपाध्यक्ष वीरबहादुर तामाङ विशेष अतिथि तथा वडा नं ४ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता चन्द्रबहादुर गुरुङ, वडा नं ३ का अध्यक्ष नाति तामाङ सभापति रहेका थिए । साथै शिवपुरी गाउँपालिका–१, २ र ७ का वडाअध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीयवासी, पत्रकार, पूर्व जनप्रतिनिधि, शिक्षक, सरोकारवाला तथा गाउँपालिकाका कर्मचारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
महोत्सवमा स्थानीय रूपमा उत्पादित चामलबाट बनेको सेल रोटी खुवाइएको थियोे भने कलाकारहरुले प्रस्तुत गरेका लाइभ दोहोरी गीतले सहभागीलाई थप आकर्षित बनाएको थियो।
काठमाडौं नजिकै भएकाले लखनेस्वरी झर्ना पुग्न सहज छ। यहाँ झर्ना हेरेर रमाइलो मात्र होइन, पौडी खेल्न पनि सकिन्छ। झर्ना नजिकै अवस्थित पवित्र लखनेस्वरी महादेव मन्दिरमा पुगेर दर्शन तथा भाकल पुरा गर्ने अवसर पनि पाइन्छ। साथै नजिकैको सिक्रे गुरुङ गाउँमा गुरुङ समुदायको बस्ती, सांस्कृतिक माहोल र स्थानीय अर्गानिक खानेकुराको स्वाद लिन सकिने भएकाले झर्ना क्षेत्रलाई आकर्षक गन्तव्य मानिएको छ।
झर्नाको आनन्दसँगै लखनेस्वरी महादेवको दर्शन र स्थानीय उत्पादनको स्वाद लिन एक पटक लखनेस्वरी झर्ना अवश्य भ्रमण गर्न सहभागीले आग्रह गरेका छन्।

