गणेश चतुर्थी पर्व आज देशभर विशेष पूजापाठसहित मनाइँदै
काठमाडौँ, भदौ ११ । अग्रपूजाका देवता विघ्नहर्ता भगवान् गणेशको पूजा–आराधना गरी आज देशभर गणेश चतुर्थी पर्व मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यस पर्वमा भगवान् गणेशको जन्मोत्सवका रूपमा विशेष श्रद्धा अर्पण गरिन्छ।
शास्त्रीय मान्यताअनुसार सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको हो। यस अवसरमा आज राजधानीका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजापाठ एवं उत्सव बिहानैदेखि भइरहेको छ।
शिव–पार्वतीका पुत्र गणेशलाई धार्मिक कार्यमा अग्रपूजाको अधिकार प्राप्त छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार आज हरितालिका (तीज) व्रतको पारायण गरी गणेशको व्रतसमेत गर्ने परम्परा छ।
भाद्र शुक्ल तृतीयामा सुखद् दाम्पत्य जीवन र शान्तिको कामना गरेका व्रतालुले चतुर्थीमा जीवनमा विघ्न नआओस् भनी गणेशको पूजा गर्ने विधान रहेको गणेश पुराण मा उल्लेख छ। बिहान हरितालिका व्रत पारायण गरी मध्याह्नमा गणेश पूजापाठ गरी अर्घ्य दिने विधि प्रचलनमा रहेको गौतमले बताए।
यस दिन नेवार समुदायमा बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने परम्परा पनि रहिआएको छ। विसं २०६५ देखि यस पर्वको भोलिपल्ट राजधानीलगायत विभिन्न शहरमा गणेश रथयात्रा गर्ने परम्परा सुरु भएको हो। यस्तै, विसं २०६४ मा यसै दिन राष्ट्रिय धर्मसभाको स्थापना भएकाले यस दिनलाई धर्मसभा स्थापना दिवसका रूपमा पनि मनाइन्छ।

