देशमा ६० हजार हेक्टर खेतीयोग्य जमिन बाँझो, खाद्यान्न आयातमा खर्बौं रुपियाँ बाहिर



काठमाडौँ, भदौ ११ । मुलुकभर हाल करिब ६०.५ हजार हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको तथ्याङ्क सार्वजनिक भएको छ । खाद्यान्न आयातमै बर्सेनि खर्बौं रुपियाँ विदेशिनुका साथै बाँझो जमिनमा खेती गर्ने वा त्यस्तो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने कुनै नीति तथा कार्यक्रम सरकारले ल्याउन नसकेको अवस्था छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसीका अनुसार तीन वर्षभन्दा बढी समयदेखि खेती नभएको कृषियोग्य जमिनको क्षेत्रफल ६०.५ हजार हेक्टर पुगेको छ । खेतीयोग्य जग्गा बाँझो रहँदा उत्पादन घट्नुका साथै आयात बढ्दै गएको छ । उदाहरणका लागि धानको आयात गत आर्थिक वर्ष (२०८१/८२) मा मात्रै ४० अर्ब रुपियाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष (२०८०/८१) मा २२ अर्ब मात्र थियो ।

जग्गा बाँझो हुने मुख्य कारणमा गाउँघर छोडेर सहर पस्ने, वैदेशिक रोजगारी जाने, लगानीअनुसार नाफा नहुनु, उत्पादन खर्च बढ्नु, बजार समस्या, खेतीयोग्य जमिन खण्डित हुनु र चक्लाबन्दी नहुनु रहेका छन् । डा. केसीले जग्गाको एकीकरण गर्न सकिएन भने बाँझो जमिन प्रयोग गर्न कठिन हुने भन्दै खेती गर्न नसक्नेबाट जग्गा लिएर गर्न सक्नेलाई दिने प्रणाली आवश्यक रहेको बताए ।

उनका अनुसार धेरै किसानसँग जग्गा भए पनि खेती गर्ने मनोवृत्ति हराउँदै गएको छ । व्यावसायिक खेतीका लागि ठूलो क्षेत्रफल आवश्यक पर्ने भए पनि खण्डित जग्गाले समस्या थपेको छ ।

यसैबीच, बाँझो जग्गामा पुनः खेती गर्नेलाई प्रोत्साहन गर्ने मन्त्रालयको कुनै नीति वा कार्यक्रम हाल नभएको सहसचिव केसीले स्पष्ट पारे । मन्त्रालयले फलफूल खेती, नगदे बाली र पशुपालनसँग जोडिएको कृषि वन प्रणालीलाई प्रवर्द्धन गर्ने प्रयास त गरिरहेको भए पनि धान, गहुँजस्ता मौसमी बाली उत्पादनका लागि भने अलग्गै कार्यक्रम नरहेको उनले बताए ।

केन्द्रीय तथ्याङ्क कार्यालयका अनुसार विगत एक दशकमा खेतीयोग्य जमिन बाँझो हुने क्रम १८ प्रतिशतले बढेको छ । अहिले देशभर २२ लाख १८ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ६०.५ हजार हेक्टर जमिन खेतीविहीन अवस्थामा बाँझो छ ।

प्रतिक्रिया दिनुहोस्