आज देशका केही भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौं,भदौ ११ । देशका केही भूभागमा आज मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ भने कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका साथै पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा पर्न सक्ने अनुमान गरिएको छ ।
“कोसी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ, तर धेरै स्थानमा होइन,” मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।
विभागका अनुसार राति कोसी, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली मात्र हुनेछ । राति पनि कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा र केही पहाडी तथा तराई भूभागमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
विभागले मनसुनको न्यूनचापीय रेखा हाल पूर्वतर्फ सरदरभन्दा दक्षिणतिर र पश्चिमतर्फ सरदर स्थानको आसपासमा रहेको जानकारी दिएको छ ।

