सवारीमा इम्बोस्ड नम्बर अङ्ग्रेजीमै: मन्त्री दहाल



काठमाडौ,भदौ ११ । यातायातका साधनमा पेण्टरले लेखेका नम्बर प्लेटको सट्टा इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि फेर्न भनी जारी गरिएको सूचना संशोधन गर्दै सरकारले अर्को सूचना जारी गरेको छ । इम्बोस्ड नम्बर अनुकूल समयमा फेर्न सकिने गरी नयाँ सूचना जारी गरिएको हो ।

नेपाल टेलिभिजनसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्लेट फेर्ने समयमा लचकता अपनाइएपनि नम्बर प्लेटको भाषा भने अंग्रेजी नै रहने सरकारको अडान दोहोर्याए । २५ लाख वटा सवारीमा अंग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने ठेक्का सम्झौता भएकोले सरकारले सम्झौता तोड्न नसक्ने उनले बताए ।

अंग्रेजीको सट्टा नेपाली भाषा राख्न दायर रिट सर्वोच्च अदालतले नम्बर प्लेट सरकारी कामकाजको भाषा नभएको भन्दै खारेज गरेकोले ठेक्का अनुसारकै अंग्रेजी भाषामा प्लेट राख्नु पर्ने मन्त्राी दाहालले बताए । उनले अंग्रेजी भाषाका इम्बोस्ड राख्ने विषयमा भारत, बंगलादेश र भुटानसँगै नेापलले पनि सम्झौता गरेकोमा भुटान त्यसबाट पछि हटेको जानकारी दिदै उनले नेापल भने उक्त सम्झौताबाट पनि पछि नहट्ने बताए।

नेपालमा चल्ने सबै सवारीबाट नेपाली लिपि पूरै हटाउँदा नेपालको भाषिक पहिचान गुम्ने भन्दै नेपालीभाषीहरूले देवनागरीमै इम्बोस्ड नम्बर प्लेट बनाउन माग गर्दै आइरहेका छन् । सन् २०१५ मा भएको उक्त चारदेशीय सम्झौतामा नेपालको तर्फबाट तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले सही गरेका थिए । सम्झौतामा छ महिनाको सूचना दिएर सम्झौताबाट बाहिरिने प्रावधान अनुसार भुटान भने बाहिरिएको थियो ।।

प्रतिक्रिया दिनुहोस्