नुवाकोटको लिसा मूल्याङ्कनमा दुप्चेश्वर पहिलो, कांग्रेस नेतृत्वका पालिका कमजोर



नुवाकोट,भदौ ११ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन (लिसा) को नतिजा सार्वजनिक गर्दै उत्कृष्ट ६ वटा स्थानीय तह घोषणा गरेको छ । राष्ट्रिय स्तरमा सबैभन्दा बढी अंक प्राप्त गर्ने ३ नगरपालिका र ३ गाउँपालिकालाई मन्त्रालयले सम्मान गरिसकेको हो ।

नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका जिल्लाकै उत्कृष्ट ठहरिएको छ । दुप्चेश्वरले ८४.७५ अंक ल्याएर पहिलो स्थान हासिल गरेको हो । सोही जिल्लाकै ककनी गाउँपालिकाले ८१.७५ अंकसहित दोस्रो स्थान पाएको छ भने ७८.७५ अंक ल्याउँदै पञ्चकन्या गाउँपालिका तेस्रो बनेको छ ।

नुवाकोटका स्थानीय तहहरूमध्ये सबैभन्दा कमजोर नतिजा कांग्रेसले दुई पटक नेतृत्व गरेको तारकेश्वर गाउँपालिकाले ल्याएको छ । सो गाउँपालिकाले ४९.७५ अंक मात्र प्राप्त गरेको छ । जिल्लाका १२ स्थानीय तहमध्ये ५ मा माओवादी केन्द्र, ६ मा नेपाली कांग्रेस र १ मा एमालेले नेतृत्व गरिरहेका छन् । तर, एमालेले नेतृत्व गरेको किस्पाङ गाउँपालिकामा माओवादी केन्द्रबाट निर्वाचित उपाध्यक्ष कार्यवाहक अध्यक्षका रूपमा सक्रिय रहेकाले सो पालिकाले पनि ७७.२५ अंक ल्याउन सफल भएको छ ।

त्यसैगरी माओवादी केन्द्रबाट निर्वाचित बेलकोटगढी नगरपालिकाले ७५.५० अंक ल्याएको छ । समग्र नतिजाले कांग्रेस नेतृत्वका पालिकाहरूले लिसामा अपेक्षाकृत कमजोर प्रदर्शन गरेको देखिएको छ ।

स्थानीय तहहरूको कार्यप्रक्रिया, उपलब्धि, विकास व्यवस्थापनको लेखाजोखा गर्न, सुधारका क्षेत्र पहिचान गर्न तथा स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्न लिसा मूल्याङ्कन गरिँदै आएको मन्त्रालयले जनाएको छ । यसै मूल्याङ्कनअनुसार दुप्चेश्वर, ककनी र पञ्चकन्या गाउँपालिकासहितका पालिकाले यस वर्ष उच्चतम अंक हासिल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्