रौतहटमा रुबी साह हत्या प्रकरणका मुख्य आरोपीको उपचारको क्रममा मृत्यु
रौतहट,भदौ ११ — रौतहटको माधवनारायण नगरपालिका–६ निवासी रुबीकुमारी साहको हत्यामा संलग्न रहेको आरोप लागेका लक्ष्मण पासवानको उपचारको क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार पासवानलाई आफैंले आगो लगाएको अवस्थामा स्थानीयले उद्धार गरी अस्पताल पु¥याइएको थियो। प्रारम्भिक उपचारपछि गम्भीर अवस्थामा उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।
प्रहरीका अनुसार रुबी साह हत्या प्रकरणमा पासवान मुख्य आरोपित रहेका थिए। यसअघि पक्राउ परेका उनले प्रारम्भिक बयानमा हत्या गरेको स्वीकार गरेको र प्रहरी अनुसन्धानमा समेत उनी संलग्न रहेको देखिएको जनाएको छ।
गत शनिबार राति गौर–गंगापिपरा सडक खण्डमा सुटकेसभित्र मृत अवस्थामा रुबी साह फेला परेकी थिइन्। उक्त घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

