गाउँपालिकाका पूर्व अध्यक्ष यादवको निधन
सप्तरी,भदौ १२ । सप्तरीको महादेवा गाउँपालिकाका पूर्व अध्यक्ष तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार दिपककुमार यादव (टुटु बाबु) को निधन भएको छ ।
सप्तरीको महादेवा गाउँपालिका ३, बथनाहा निवासी यादवको ६८ वर्षको उमेरमा बुधबार निधन भएको हो । उनी विगत केही महिनादेखि क्यान्सर रोगबाट पीडित थिए । चिकित्सकको निगरानीमा उपचारमा रहेका उनको आफ्नै घरमा निधन भएको हो ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीको अध्यक्ष केदार प्रसाद यादवले टुटु वाबुको निधनप्रति गहिरो दुःख व्यक्त गरे ।
महादेवा गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका उनले आफ्नो कार्यकालमा स्थानीय सडक, खानेपानी, विद्यालय र स्वास्थ्य संस्थाको सुधारलाई प्राथमिकता दिएका थिए । पालिकामा महिला, दलित र युवाको सहभागिता बढाउन उहाँले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका थिए ।
उनको एक छोरा, एक छोरी र पत्नी छन् । यसैबिच महादेवा गाउँपालिकाले बुधवार एक शोक विज्ञप्ति जारी गर्दै पूर्व अध्यक्ष यादवको निधनमा आज महादेवा गाउँपालिकाको कार्यालय र मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु (आकसिमक र अत्यावश्यक सेवा वाहेक) सेवा केन्द्रहरु तथा सामुदायिक विधालयहरुमा शोक विदा दिइएको छ ।

