टाेखा–१ मा तीज विशेष दोहोरी तथा सांस्कृतिक कार्यक्रम सम्पन्न



काठमाडौँ,भदौ १२। टाेखा नगरपालिका वडा नं. १ को आयोजनामा तीज विशेष दोहोरी गीत तथा विविध सांस्कृतिक कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम वडा अध्यक्ष रमेशकुमार लामिछानेको सभापतित्वमा र टाेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष लामिछानेले पर्वलाई स्थानीय महिला समुदायका प्रतिभा उजागर गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा टोखा नगरका उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, योजना प्रमुख बाबुराम गौतम, आर्थिक प्रशासन प्रमुख तारा प्रसाद निरौला, जिल्ला स.स.का सदस्य राजकुमार विडारी, वडा नं. ६ की अध्यक्ष सान्ता खनाल, पूर्व वडा अध्यक्ष श्रीकृष्ण अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गायक नवीन पौडेल, सुन्दर लामिछाने, सुदर्शन अधिकारीलगायतका कलाकारहरूले प्रस्तुति दिँदै वातावरणलाई झन् मनोरञ्जनमय बनाएका थिए । तीज प्रतियोगितामा टिम बिनिता समूह पहिलो हुन सफल भएको थियो । विजेता टोलीलाई सभापति रमेशकुमार लामिछानेले प्रमाणपत्र, नगदसहित मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य कार्यपालिका सदस्य सुनिता श्रेष्ठ परियारले राखेकी थिइन भने सञ्चालन वडा सदस्य सुनिता अधिकारी काफ्लेले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्