भारतले दिएको मुर्रा जातको राँगो भ्यागुते रोगले मर्यो



काठमाडौँ,भदौ १२ । भारतले नेपाललाई उपहारस्वरूप दिएको मुर्रा जातका राँगामध्ये एक राँगा मरेको छ । राष्ट्रिय पशु प्रजनन कार्यालय, छिनेडाँडामा राखिएका सात मुर्रा राँगामध्ये रोहित नामक राँगा गत साउन ३० गते मृत्यु भएको कार्यालयका निमित्त प्रमुख विश्वनाथ गौतमले जानकारी दिए ।

उनका अनुसार गत साउन १७ गतेदेखि बिरामी बनेको राँगालाई निरन्तर उपचार गरिँदै आए पनि बचाउन सकिएन । राँगामा घाँटी सुन्निने, उच्च ज्वरो आउने र आँखामा रातोपन देखिएपछि भ्यागुते रोगको आशङ्का गरी उपचार गरिएको थियो । तर, रोगको कारण पुष्टि भइनसकेको गौतमले बताए ।

“कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट आएको टिमले परीक्षणका लागि नमुना सङ्कलन गरी लगेका छन्,” गौतमले भने, “प्रारम्भिक आशङ्का भ्यागुते रोग भन्ने हो, तर मन्त्रालयले सबै रिपोर्टको विश्लेषण गरेपछि मात्रै पुष्टि हुन्छ ।”

गौतमका अनुसार रोहित राँगा वीर्य उत्पादनका लागि प्रयोग हुँदै आएको थियो । भ्यागुते रोग ‘पास्चुरेला मल्टोसिडा’ जीवाणुका कारण सर्ने खतरनाक रोग भएकाले संक्रमित राँगालाई छुट्टै राखेर उपचार गरिएको र अन्य राँगामा रोग नफैलिने व्यवस्था मिलाइएको छ ।

भारतले नेपाललाई १५ मुर्रा राँगा दिएको थियो । तीमध्ये सात पोखरा, पाँच लहान र तीन बाँके पठाइएका थिए । पोखरामा रहेका सातमध्ये दुईबाट गत वर्षदेखि वीर्य सङ्कलन सुरु गरिएको थियो । तीमध्ये एक ‘रोहित’को मृत्यु भएको हो भने बाँकी पाँच राँगा तालिम र अनुकूलन प्रक्रियामा रहेका छन् ।

विशेषज्ञहरूले यो घटना राष्ट्रिय स्तरको पशु प्रजनन योजनाका लागि क्षति भएको बताए पनि रोहितबाट सङ्कलित वीर्यका कारण केही समयसम्म उत्पादन सहज हुने विश्वास गरिएको छ । अन्य राँगाहरू भने हाल स्वस्थ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्