आपराधिक उपद्रव मुद्दामा आशिका तामाङसहित दुई जनालाई कैद सजाय
भक्तपुर,भदौ १२ । भक्तपुर जिल्ला अदालतले आपराधिक उपद्रव मुद्दामा आशिका तामाङ र शरण तिरूवालाई पाँच दिन कैद सजाय सुनाएको छ ।
न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सोमबार सुनाएको आदेशअनुसार उनीहरूलाई कैदसहित ५ सय रुपैयाँ जरिवाना तिराउनुपर्ने भएको छ । साथै ८ हजार ३ सय रुपैयाँ दामासाहीले बराबर क्षतिपूर्ति र पीडित राहतकोषमा जनही २०० रुपैयाँ तिर्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीका अनुसार साँगास्थित झोलुङ्गे पुलमा रकम उठाउने विषयलाई लिएर आशिका तामाङलगायतले पालिकाको सूचना बोर्ड र रसिद च्यात्दै आगजनी गरेका थिए ।
सो घटनामा सूर्यविनायक नगर प्रहरी प्रमुख बिरबहादुर अधिकारीले आशिका र उनको समूहविरुद्ध आपराधिक उपद्रव कसुरमा जाहेरी दिएका थिए । सोही आधारमा अदालतले उनीहरूलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।

