धादिङमा किटजन्य रोगको प्रकोप, स्क्रब टाईफसका बिरामी बढ्दै



धादिङ,भदौ १३ । धादिङ जिल्लामा किटजन्य रोगको प्रकोप तीव्र बन्दै गएपछि चिकित्सकहरूले वातावरणीय सरसफाइमा विशेष ध्यान दिन सुझाव दिएका छन् । हाल जिल्लामा डेंगी र स्क्रब टाईफस दुबै रोग फैलिन थालेका भए पनि यस वर्ष स्क्रब टाईफस सङ्क्रमित बिरामीको सङ्ख्या बढी रहेको धादिङ अस्पतालले जनाएको छ ।

अस्पतालका डाक्टर दिनेश रेग्मीका अनुसार लामखुट्टेको टोकाइबाट सर्ने डेंगी र मुसामा पाइने माइटको टोकाइबाट फैलिने स्क्रब टाईफसका बिरामी दैनिक सात–आठ जना अस्पतालमा भर्ना भएर उपचार लिन आइरहेका छन् । “उच्च ज्वरो, टाउको दुखाइ र ज्यान दुखाइका बिरामीहरू अधिक मात्रामा आउन थालेका छन्, यी लक्षण दुवै किटजन्य रोगमा देखिन्छन्,” रेग्मीले बताए ।

सामान्य अवस्थामा दैनिक करिब दुई सय बिरामी स्वास्थ्य परीक्षणका लागि आउने धादिङ अस्पतालमा हाल पाँच सयजना हाराहारीमा बिरामी आउन थालेको तथ्याङ्क छ । तीमध्ये ३० देखि ३५ प्रतिशत बिरामी किटजन्य रोगका उपचारका लागि आउने गरेका छन् ।

चिकित्सकहरूले किटजन्य रोग नियन्त्रणका लागि लामखुट्टेको वासस्थान नष्ट गर्ने, झाडी पन्छाउने, पानी जम्न नदिने लगायतका उपाय अपनाउन आग्रह गरेका छन् । यस्तै, समुदायस्तरमै लामखुट्टेको लार्भा नष्ट गर्ने र सरसफाइ अभियान सञ्चालन गर्न स्थानीय तह र सरोकारवाला संस्थाहरू सक्रिय हुनुपर्ने सुझाव समेत दिएका छन् ।

अस्पताल स्रोतका अनुसार भदौ महिनाको सुरुवात यता मात्रै १४ जनामा स्क्रब टाईफस र पाँच जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । यद्यपि, यी रोगसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीहरूको सङ्ख्या भने अझै धेरै रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्