इम्बोस्ड नम्बर प्लेट अनिवार्यतामाथि पुनर्विचार, विरोध रोकिएन
काठमाडौँ,भदौ १२ । सरकारले असोज १ गतेदेखि सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने व्यवस्था पुनर्विचार गरे पनि यसको विरोध रोकिएको छैन । यातायात व्यवस्था विभागले नामसारी, दर्ता र नविकरण गर्दा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य हुने सूचना प्रकाशित गरेपछि सुरु भएको विरोध अझै चर्किएको हो ।
विभागले पछिल्लो विज्ञप्तिमा इम्बोस्ड नम्बर प्लेट जडान तत्काल अनिवार्य नभएको र विस्तारै जडान गर्दै जाने प्रावधान कार्यान्वयन गर्ने स्पष्ट पारेको छ । साथै, तत्काल नम्बर प्लेट नराख्ने सवारीसाधनलाई जरिवाना वा कारबाही नहुने पनि जनाएको छ । तर, दोस्रो सूचना सार्वजनिक भए पनि जडान शुल्क महँगो हुनु र नागरिकको विवरण सुरक्षित नहुने आशङ्काका कारण विरोध कायमै छ ।
इम्बोस्ड नम्बर प्लेटमा नेपाली अक्षरको समावेश हुनुपर्ने विषयसमेत विवादको अर्को पाटो बनेको छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले यो योजना सुरुदेखि नै विवादित रहेको उल्लेख गर्दै सरकारले वास्तविक लागतभन्दा दोब्बर मूल्य लिन खोजेकाले विरोध गर्नु परेको बताए ।
यता यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलले भने विदेशी कम्पनीमार्फत नम्बर प्लेट निर्माण भए पनि नागरिकको विवरणको भण्डारण विभागमै हुने भएकाले सुरक्षा खतरा नरहेको दाबी गरेका छन् ।
हालसम्म नेपालमा एक लाखभन्दा बढी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेको छ भने करिब आठ लाख नम्बर प्लेट जडानको तयारी अवस्थामा रहेको विभागले जनाएको छ । विभागका अनुसार देशभर दुईपांग्रे र चारपांग्रे गरी करिब ४० लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ ।

