भक्त राना स्मृति र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि सुमन लामालाई
काठमाडौं,भदौ १३ । रौतहटका सुमन लामाले भक्त राना स्मृति र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । सिनामंगलस्थित रोयल एयरपोर्ट होटलमा बिहीवार सम्पन्न प्रतियोगितामा सुमनले सर्वाधिक आठ अंक जोड्दै च्याम्पियन बन्न सफल भएका हुन् ।
अखिल नेपाल बुद्धिचाल संघको आयोजनामा भएको दुई दिने प्रतियोगितामा सुमन र रुकुमका मिलन रोकाले समान आठ–आठ अंक जोडे पनि टाइब्रेकमा राम्रो नतिजा ल्याउँदै सुमन विजेता बने । प्रतियोगितामा सुमन सर्वाधिक रेटेड (१८९३) खेलाडी पनि हुन् ।
यसैगरी सप्तरीका निखिल चौधरी तेस्रो, काठमाडौँका मणिराज डाँगी चौथो र सानुभाई महर्जन पाँचौँ स्थानमा रहे । यी तीनैजनाले साढे सात अंक जोडे पनि टाइब्रेकका आधारमा क्रम निर्धारण गरिएको हो । शीर्ष पाँच स्थानमा रहेका खेलाडीले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र आठ हजार नगद पुरस्कार प्राप्त गरे ।
समान सात अंक जोडेका भक्तपुरका राजेश कक्षपति, काठमाडौँका दीपक महर्जन, झापाका मिसन दाहाल, मकवानपुरका फुर्बा लामा र धादिङका सुवासकुमार गुरुङ दशौँ स्थानमा पुगे ।
महिलातर्फ मोरङकी शान्ति धिमाल च्याम्पियन बन्न सफल भइन् । नवलपुरकी उज्भानी कँडेल दोस्रो र दनिसा पुरी तेस्रो स्थानमा रहे । शान्ति र उज्भानीले समान पाँच–पाँच अंक जोड्दा टाइब्रेकमा शान्ति विजेता भइन् भने दनिसाले चार अंक जोडेर तेस्रो स्थान हात पारिन् ।

