बारामा थप एक जनामा हैजाको सङ्क्रमण
कलैया,भदौ १३ । बाराको प्रादेशिक अस्पताल कलैयामा थप एक जनामा हैजाको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएका उनी सिकिस्त बिरामी भएकोले विशेष उपचार कक्षमा उनको उपचार भइरहेको कलैया अस्पतालका डा. ओम प्रकाश कुश्वाहाले बताए ।
हिजो साँझ शरीरको पानीको मात्र न्यून भएकोले सुकेको जस्तो देखिएका उनलाई तत्काल आइसियुमा राखेर उनको उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ । पखाला लागेर अस्पतालमा उपचाररत कलैया उपमहानगरपालिका वडा नम्बर १९ का ४५ वर्षीय एक पुरुषमा आरडिटि पोजेटिभ आएको हो । हिजो एकै दिन अस्पतालमा झाडा र पखाला लागेका १० जना बिरामी आएकामा अरूको हैजा नदेखिएको र सामान्य भएर घर गएको डा. कुश्वाहाले बताए ।
यस अघि बुधवार मात्रै प्रादेशिक अस्पतालमा उपचाररत एक जना बिरामीमा हैजा सङ्क्रमण पुष्टि भएको थियो । उनी कलैया उपमहानगरपालिका –१८ पतौराका हुन् । ती पुरुष बिहीबार बेलुका ६ बजे डिस्चार्ज भएर गएका छन् ।
स्वास्थ्यकर्मीहरूले हैजाबाट जोगिन खानपानमा ध्यान दिन, उमालेर मात्र पानी पिउन, सर सफाइमा विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् । जिल्लामा हैजाको रोगी देखा पर्न थालेपछि बिहीबार प्रादेशिक अस्पतालका निमित्त प्रमुख डा.विप्लब सुबेदीको अध्यक्षतामा बसेको रेपिट रेस्पोन्स टिमको बैठकले आइसियुलाई हैजाको बिरामी मात्र राखेर उपचार गर्ने , सुबेदीकै अध्यक्षतामा सात सदस्यीय रेपिट रेस्पोन्स टिम गठन गर्ने निर्णय गरेको छ ।
बाराका स्थानीय निकायहरूले सूचना जारी गरी हैजाबाट सचेत हुन र हैजाको प्रकोप बारामा फैलन नदिन मासु पसल, अन्य पसलहरूमा सतर्कता अपनाउन र सरसफाइ राख्न निर्देशन दिएका छन् । हैजा तथा झाडापखालाको जोखिम बढेसँगै बाराको फेटा गाउँपालिकाले रोग नियन्त्रणका लागि जन चेतनामूलक अभियान थालेको छ।गाउँपालिकाले जनचेतना फैलाउन घर–घरमै पुगेर स्वास्थ्य सचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्ने अभियान थालेको गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीले बताएका छन् ।
व्यक्तिगत स्तरमा सुरक्षित खानेपानी प्रयोग गर्न, खाना खानुअघि र दिसापछि साबुन पानीले हात धुन, राम्ररी पकाएको खाना मात्र खान, पानीको भाँडा वा ट्याङ्की छोपेर राख्न तथा वरिपरि सफा राख्न आग्रह गरेका छन् ।
सुरक्षित खानेपानी आपूर्ति सुनिश्चित गर्न, सामुदायिक तहमा जनचेतना फैलाउने अभियान अघि सारेको छ । यसका लागि स्वास्थ्यकर्मीरूलाई बस्ती–बस्तीमा परिचालन गरिएको छ । स्वास्थ्यकर्मीहरूले हैजासम्बन्धी जानकारी दिनुका साथै दूषित खाना–पानी नखान, फलफूल तथा तरकारी राम्ररी धुने सन्देश प्रवाह गरिरहेका छन् । गर्मी र वर्षा याममा हैजासहित झाडापखाला फैलिने सम्भावना उच्च हुने भएकाले गाउँपालिकाले युद्ध स्तरमा सचेतना अभियान सुरु गरेको बताइएको छ ।

