सिरहामा सशस्त्र प्रहरीले २२ लाखभन्दा बढीको कपडा बरामद



सिरहा,भदौ १३ । सिरहाको लहान नगरपालिका–१९ स्थित चहरपट्टी चौकबाट सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याइएका कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गुल्म, लहानका अनुसार बिहीबार साँझ करिब ८ बजे गस्तीमा रहेको टोलीले शङ्का लागेपछि भारतीय नम्बर BR 01 PB 4642 भएको सेतो स्कारपियो रोकेको थियो । प्रहरी देखेपछि चालक गाडी छाडेर फरार भएका थिए ।

गाडी जाँच गर्दा त्यसमा नयाँ तथा विभिन्न प्रकारका कपडा लोड गरिएको फेला परेको थियो । प्रारम्भिक अनुसन्धानअनुसार उक्त कपडा भन्सार छली गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको खुलेको छ ।

बरामद कपडाको अनुमानित मूल्य रु ७ लाख ४ हजार ८५० रहेको छ भने गाडीको मूल्य रु १५ लाख रहेको प्रहरीले जनाएको छ । फरार चालकको खोजी भइरहेको छ ।

बरामद कपडा तथा गाडी आवश्यक कारबाहीका लागि लहान भन्सार कार्यालयमा बुझाइएको छ । सशस्त्र प्रहरीका अनुसार यो कारबाही भन्सार छली तथा अवैध सामान तस्करी नियन्त्रणमा महत्वपूर्ण सफलताका रूपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्