२२ वर्षमै नेपाल सरकारको अधिकृत : नुवाकोट दुप्चेश्वरकी दिप्ती आचार्यको प्रेरणादायी यात्रा
नुवाकोट, १३ । “निरन्तर मेहनत र आत्मविश्वासले असम्भवजस्तो लाग्ने सपना पनि पूरा गर्न सकिन्छ” भन्ने उदाहरण बनेकी छन्, दुप्चेश्वर गाउँपालिका–६ की २२ वर्षीया दिप्ती आचार्य।
लोकसेवा आयोगले कानुन अधिकृत पदका लागि लिएको खुला प्रतियोगितामा १४औँ स्थान हासिल गर्दै नेपाल सरकारको अधिकृत पदमा नाम निकाल्दै दिप्तीले उमेरकै हिसाबले सबैभन्दा कान्छी उम्मेदवारको रूपमा इतिहास रचेकी छन्।
दिप्ती भन्छिन्, “सानै उमेरदेखि पढाइमा रुचि थियो। निरन्तर मेहनत, परिवारको साथ र आत्मविश्वासकै कारण यो स्थानसम्म आइपुगेकी हुँ। कानुन क्षेत्रमा काम गर्ने चाहनालाई पेशामा रूपान्तरण गर्न पाउँदा गर्व लागेको छ।” उनका अनुसार, यो सफलता अन्तिम लक्ष्य नभई नयाँ यात्राको पहिलो खुड्किलो मात्र हो। न्यायिक क्षेत्रमा ठोस योगदान दिने आकांक्षासहित अझ मेहनत गर्ने उनको योजना छ।
आमा उमा आचार्य र बुबा जनार्दन आचार्यले छोरीको उपलब्धिलाई नुवाकोटको गौरवसँग जोड्दै सामाजिक सञ्जालमा लेखेका छन्, “सबैभन्दा कान्छी उमेदवार भएर सफलता प्राप्त गर्दा हामी गौरवान्वित छौँ। यो यात्रामा प्रत्यक्ष–अप्रत्यक्ष साथ दिने सबैलाई धन्यवाद।” जनार्दन आचार्य स्वयं पनि शिक्षा क्षेत्रमा प्रतिस्पर्धाबाट अघि बढेका व्यक्तित्व हुन्। दुप्चेश्वर माविमा शिक्षक रहेका उनले विसं २०६३ मा पहिलोपटक नाम निकाल्दा सुरु भएको यात्रा २०७५ मा बढुवा हुँदै द्वितीय श्रेणी शिक्षकसम्म पुगेको थियो।
दिप्तीको प्रारम्भिक अध्ययन गाउँकै रूकमणी माध्यमिक विद्यालयमा भयो। कक्षा १० (SEE) पास गरेपछि उनी काठमाडौंको रेडन कलेजमा विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरिन्। यद्यपि, विज्ञानमा अवसर प्रशस्त हुँदाहुँदै पनि उनको मन न्याय क्षेत्रमा थियो। यही चाहनाले उनलाई नेपाल ल क्याम्पससम्म पुर्यायो।
बिए–एलएलबी अध्ययनको क्रममा उनले प्रत्येक सेमेष्टरमा उत्कृष्ट अंक ल्याइन्। दशौँ सेमेष्टरमा कलेज टप गर्दै उनले आफ्नो क्षमताको प्रमाणित गरिसकेकी थिइन्।
दिप्ती भन्छिन्, “आफ्नो सफलताको श्रेय बाबु–आमा, विद्यालय, शिक्षक तथा समाजबाट पाएको प्रेरणा र मार्गदर्शनलाई दिन्छु। मेहनत नगरी उपलब्धि पाउन सकिँदैन भन्ने कुरा मेरो अनुभवले सिकाएको छ।”
२२ वर्षमै सरकारी सेवामा अधिकृत बन्ने उनको उपलब्धि नुवाकोटका मात्र नभई सम्पूर्ण युवायुवतीका लागि प्रेरणाको स्रोत बन्ने निश्चित छ।

