स्वास्थ्य बिमा नवीकरण नगर्नेलाई लाग्नेछ यतिधेरै जरिवाना
काठमाडौँ,भदौ १४ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले विगतमा स्वास्थ्य बिमा गरी नवीकरण नगरेका बिमित परिवारहरूलाई एक पटकका लागि थप शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । बोर्डले असोज मसान्तभित्र नवीकरण गरेमा कुनै थप शुल्क नलाग्ने जनाएको छ । तर कात्तिक ३१ गतेपछि भने चर्को विलम्ब शुल्क लागू हुने बोर्डले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।
बुधबार बोर्डले जारी गरेको सूचनामा असोज मसान्तसम्ममा नवीकरण गर्नेहरूका लागि पुरानो योगदान रकममै बिमा नवीकरण गर्न सकिने व्यवस्था मिलाइएको उल्लेख छ । यसका लागि बिमितहरूले अनलाइन प्रणाली वा दर्ता सहयोगीमार्फत २०८२ कात्तिक ३१ गतेभित्र अनिवार्य रूपमा स्वास्थ्य बिमा नवीकरण गर्नुपर्ने बोर्डले स्पष्ट पारेको छ ।
बोर्डका अनुसार समयमै नवीकरण नगरेका बिमितलाई म्याद सकिएपछि थप शुल्क तिर्नु पर्नेछ । म्याद सकिएको तीन महिनाभित्र नवीकरण गरेमा योगदान रकमको १० प्रतिशत, ६ महिनाभित्र गरेमा ३० प्रतिशत, एक वर्षभित्र गरेमा ५० प्रतिशत थप शुल्क लाग्नेछ ।
यस्तै, एक वर्षभन्दा बढी भएमा योगदान रकमको शतप्रतिशत थप शुल्क लाग्ने, दुई वर्षभन्दा बढी भएमा योगदान रकमको तीन गुणा बराबर र तीन वर्षभन्दा बढी भएमा चार गुणा बराबरको शुल्क लाग्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
स्वास्थ्य बिमा बोर्डले आम बिमितलाई असोज मसान्तभित्रै नवीकरण गरी थप शुल्कबाट बच्न आग्रह गरेको छ ।


