इमान्दार नेता र अनुशासित नागरिक हुनसके विकास सम्भव छ : मन्त्री गुरुङ



काठमाडौँ,भदौ १४। संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले इमानदार नेता र अनुशासित नागरिक हुन सके देशको विकास सम्भव हुने बताएका छन् ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २९ औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा शुक्रबार काठमाडौँमा बोल्दै मन्त्री गुरुङले मुलुकमा सुशासन र समृद्धि कायम गर्न इक्यानजस्ता संघले महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गरे ।

उनले पछिल्लो समय उच्च शिक्षाका लागि विदेशिने युवाको संख्या बढ्दो अवस्थामा रहेकोप्रति ध्यानाकर्षण गराउँदै युवालाई स्वदेशमै फर्काउन आवश्यक रहेको बताए । “विद्यार्थी उच्च शिक्षाका लागि विदेश जानु सकारात्मक हो तर इक्यानकै पहलमा ती युवालाई स्वदेशमै भविष्य देखाउने दायित्व पनि हुनुपर्छ,” मन्त्री गुरुङले भने ।

नेपाललाई शैक्षिक हब बनाउन सकिने सम्भावनाबारे जोड दिँदै उनले शिक्षा नीति, ऐन र कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको सुझाव दिए ।

कार्यक्रममा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले स्वदेशमै युवाको उत्साह टिकाइ राख्नु अहिलेको मुख्य चुनौती भएको बताए । त्यस्तै, इक्यानका अध्यक्ष शेसराज भट्टराईले विश्वभर प्रतिस्पर्धा गर्न सक्ने क्षमता हासिल गरेका विद्यार्थी इक्यानको सफलता भएको उल्लेख गर्दै सरकारले यसलाई सकारात्मक दृष्टिले लिनुपर्ने बताए ।

भट्टराईले इक्यानले गुणस्तरीय शिक्षा हासिल गरेका विद्यार्थीलाई स्वदेश फर्काएर सेवा गर्ने भावनाको विकास गराउने भावी लक्ष्य लिएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्