प्रधानमन्त्री ओली चीन प्रस्थान



काठमाडौँ,भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीनको पाँचदिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् ।

चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलन २०२५ मा सहभागी हुन शनिबार बिहान चीनतर्फ प्रस्थान गरेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले भ्रमणका क्रममा तियानजिनमा राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा हुने साङ्घाई शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै सम्मेलनको अवसरमा विभिन्न राष्ट्रका प्रमुख तथा सरकार प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको जनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, मुख्यसचिव एकनारायण अर्याललगायतले बिदाइ गरेका थिए ।

प्रधानमन्त्रीको बिदाइका क्रममा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधिहरू उपस्थित थिए । त्यसअघि नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सम्मान गारत अर्पण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्