राष्ट्रिय युवा संघ नेपाल ककनी गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न
नुवाकोट,भदौ १५ । सत्तारुढ दल नेकपा एमालेले नुवाकोटमा आफ्नो संगठन विस्तारलाई प्राथमिकता दिँदै विभिन्न भेला र अधिवेशनलाई तीव्रता दिएको छ । यही क्रमअन्तर्गत राष्ट्रिय युवा संघ नेपाल ककनी गाउँपालिका कमिटीको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले प्रदीप लामिछानेको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । आगामी दुई वर्षे कार्यकालका लागि उपाध्यक्षमा दीपक लामा, सचिवमा सुजन तमाङ, सहसचिवमा राजकुमार बलामी र ललित तमाङ, प्रवक्तामा दीपा तमाङ चयन भएका छन् ।
यसअघि अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य, नुवाकोट इन्चार्ज एवं बागमती प्रदेशका पूर्वमन्त्री केशवराज पाण्डेले गरेका थिए । उनले पार्टीभित्र विभिन्न षड्यन्त्रहरू हुन थालेको भन्दै सबै पक्ष सचेत रहनुपर्ने र संगठनलाई बलियो बनाउन युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।
उद्घाटन कार्यक्रममा एमाले नुवाकोटका अध्यक्ष तथा पूर्वमन्त्री वद्री मैनाली, पूर्वअध्यक्ष एवं पूर्वप्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडा, प्रदेश कमिटी सदस्य काशीराज अधिकारी, बलराम आचार्य, नवराज ओझा, जिल्ला कमिटी उपसचिव राजेन्द्रप्रकाश पाण्डे, एमाले सचिवालय सदस्य तथा युवा इन्चार्ज रमेशरमण खनाल, दीपक कार्की, युवा संघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज आर्यन (रामनारायण) श्रेष्ठ, युवा संघका अध्यक्ष प्रज्वल सापकोटा लगायतका वक्ताहरूले पछिल्लो समय एमालेलाई घेराबन्दी गर्ने तथा कमजोर बनाउन खोज्ने गतिविधि बढेकाले संगठन विस्तार र सुदृढीकरण अपरिहार्य भएको धारणा राखे ।
एमालेले नुवाकोटमा संगठन विस्तारलाई निरन्तर प्राथमिकता दिने र आगामी दिनमा पनि युवालाई नेतृत्वमा अगाडि ल्याउँदै संगठनलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

