लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन
काठमाडौँ,भदौ १५। लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको शनिबार निधन भएको छ । काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा उपचारका क्रममा उनको निधन भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काका अनुसार पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौँ ल्याइएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।
पुनको एकैपटक दुईवटा जटिल शल्यक्रिया गरिएको थियो । पहिलो शल्यक्रियामार्फत छोरीलाई जन्म दिइएकी थिइन् भने दोस्रो शल्यक्रियामार्फत मुटुमा कृत्रिम ‘भल्भ’ प्रत्यारोपण गरिएको थियो । तर उपचारको क्रममा नै उनको ज्यान गएको खड्काले जानकारी दिए ।
पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् ।

