नेपालमा दुई सय वर्षपछि पनि पुस्तकालयको अवस्था नाजुक



काठमाडौँ, भदौ १५ । नेपालमा पुस्तकालय स्थापनाका लागि नीतिगत निर्णय भएको दुई सय वर्षभन्दा बढी भइसके पनि पुस्तकालय अझै पनि आर्थिक र नीतिगत जटिलताबाट मुक्त हुन सकेका छैनन् ।

जनस्तरमा पठन संस्कृतिको विकासका लागि महत्वपूर्ण मानिएका पुस्तकालयमध्ये कतिपय धिपधिपे बत्ती जसरी सञ्चालन भइरहेका छन् भने आधाभन्दा धेरै बन्द भइसकेका छन् । पुस्तकालय अध्येताहरूका अनुसार गीर्वाणयुद्धविक्रमको समयमा पुस्तकालयसम्बन्धी नियम बनाई १८६९ भदौ १५ गते नेपालको प्रथम औपचारिक पुस्तकालय ‘पुस्तक चिताई तहबिल’ स्थापना भएको मानिन्छ ।

विगतका दशकमा सामुदायिक र शैक्षिक पुस्तकालय उत्साहपूर्वक स्थापना भए पनि तिनीहरूको दीर्घकालीन स्थायित्व सुनिश्चित हुन नसक्दा बिस्तारै हराउँदै गएका छन् । नियमित सञ्चालनका लागि आर्थिक अभाव र स्पष्ट कानुनी संरचना नहुनु पुस्तकालयको मुख्य समस्या हो । साथै सूचना प्रविधिमा भएको तीव्र विकाससँगै पाठकको पठनशैलीमा आएको परिवर्तनलाई पुस्तकालयले आत्मसात् गर्न नसक्नु अर्को चुनौती बनेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव तथा केशर पुस्तकालय प्रमुख यादवचन्द्र निरौलाका अनुसार पुस्तकालय दिवसका दिन मात्रै छलफल हुने तर अन्य दिनमा सरोकारवालाबाट चासो नदिइनु समस्या हो । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा ९२८ सामुदायिक पुस्तकालयमध्ये २२७ वटा मात्रै राम्रोसँग सञ्चालनमा रहेका छन् । जनताको विश्वविद्यालय भनेर चिनिने सार्वजनिक पुस्तकालयहरू बन्द हुँदै जानुमा राज्यको न्यून लगानी प्रमुख कारण रहेको बताइएको छ ।

विकसित मुलुकमा कुल शिक्षा बजेटको एक प्रतिशत पुस्तकालयका लागि छुट्याइन्छ भने नेपालमा भने शिक्षा बजेट नै घट्दो क्रममा रहेकाले पुस्तकालयको हिस्सा नगण्य छ । नेपाल पुस्तकालय सङ्घका महासचिव राजेन्द्र पाण्डेका अनुसार कानुनी संरचनाको अभाव, जीर्ण पूर्वाधार, अस्थिर आर्थिक स्रोत, दक्ष जनशक्तिको कमी, घट्दो पठन संस्कृति र डिजिटल युगसँग कदम मिलाउन नसक्नु पुस्तकालयको मुख्य चुनौती हो ।

संविधानले पुस्तकालयको जिम्मेवारी सङ्घ, प्रदेश र स्थानीय तहको साझा दायित्वको रूपमा व्याख्या गरेको छ । तर स्थानीय तह अनुसार अनुदानको शैली र रकम फरक–फरक भएकाले पुस्तकालय स्थायित्वमा समस्या देखिएको निरौलाले बताए ।

नेपालका धेरै पुस्तकालय अस्थायी वा जीर्ण भवनमा सञ्चालन भइरहेका छन् । पर्याप्त अध्ययन कक्ष, बालमैत्री कोठा, अपाङ्गतामैत्री सुविधा, शौचालय तथा इन्टरनेट अभावका कारण पाठक सहज हुन सकिरहेका छैनन् । २०७२ सालको भूकम्पपछि धेरै पुस्तकालय भवन पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

विकसित मुलुकले पुस्तकालयलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सँग जोडिसकेका छन् भने नेपालका पुस्तकालयहरू अझै त्यस्तो स्तरमा पुग्न सकेका छैनन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका सूचना अधिकारी विजय शर्माका अनुसार पुस्तकालयलाई आधिकारिक सूचना केन्द्र बनाउन सकियो भने पाठक आकर्षित हुनेछन् ।

अठारौँ पुस्तकालय दिवस (भदौ १५) को अवसरमा सरकारी तथा गैरसरकारी स्तरमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । दिवसलाई प्रभावकारी बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलको संयोजकत्वमा मूल समारोह समिति र उपसमिति गठन गरिएको छ । विसं २०६५ देखि प्रत्येक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाइँदै आएको हो । यस वर्षको आदर्श वाक्य ‘हाम्रो पुस्तकालय : हाम्रो भविष्य’ तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्