दशैं–तिहार लक्षित सुकिला नोट सटही भदौ २९ देखि असोज १० सम्म
काठमाडौँ, भदौ १५ । आगामी दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटहीको व्यवस्था मिलाएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैंकका प्रदेश कार्यालयहरू तथा सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट सुकिला नोट साट्न सकिने जानकारी दिएको हो ।
“नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रदेश कार्यालयहरूमा समेत सुकिला नोट सटही गर्न सकिनेछ,” सूचनामा उल्लेख छ, “साथै सबै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि यो सेवा उपलब्ध हुनेछ ।”
चाडपर्वको समयमा प्रायः रु पाँच, १०, २०, ५० र १०० दरका नोटको बढी माग हुने गरेको छ । केन्द्रीय बैंकले हरेक वर्ष मैला नोट संकलन गरी नयाँ नोट बजारमा पठाउने प्रचलन ल्याएको हो ।
आर्थिक वर्ष २०६७/६८ मा सार्वजनिक ‘सफा नोट नीति’ अनुसार आर्थिक कारोबारमा मात्र सफा नोट प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । झुत्रा नोटहरू बैंक तथा वित्तीय संस्थामार्फत केन्द्रीय बैंकमा बुझाइने गरेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरी विदेशमै नोट छपाइ हुने भएकाले यस प्रक्रियामा राज्यकोषको ठूलो खर्च हुने गरेको भन्दै राष्ट्र बैंकले नोटहरू सफा राख्न सबैलाई आग्रह समेत गरेको छ ।

