देशभर बदली, विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौँ, भदौ १६। जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको र अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह भइरहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली छ भने बाँकी भू–भागमा आंशिक बदली देखिएको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आगामी सोमबार देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने बाँकी पहाडी तथा तराई भू–भागका थोरै स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ । बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।
यस्तै आज राति पनि देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित अन्य पहाडी भू–भागका थोरै स्थानमा तथा तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।

