भारतमा लगेर अवैध रूपमा मिर्गौला झिक्ने गिरोह पक्राउ



काठमाडौँ,भदौ १६ । आर्थिक अवस्था कमजोर भएका नेपालीलाई प्रलोभनमा पारी भारतमा लगेर अवैध रूपमा मिर्गौला झिक्ने मानव तस्कर गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले सिन्धुपाल्चोक सुनकोशी–२ का श्यामकृष्ण भण्डारी र सुजन भारतीलाई भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो । ब्युरोका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार उनीहरू मानव अङ्ग तस्करीको संगठित मिलेमतोमा संलग्न थिए ।

आर्थिक प्रलोभनमा पारेर विभिन्न जिल्लाका विपन्न नेपालीलाई भारत पु¥याई मिर्गौला झिक्ने कार्य हुँदै आएको सूचनापछि ब्युरोले ‘अवैध अङ्गको व्यापारबाट जीवनको रक्षा’ भन्ने नाराका साथ ‘अपरेसन लाइफ सिल्ड’ सञ्चालन गरेको थियो । सो क्रममा पाँच जना पीडित फेला परेपछि प्रहरी गिरोहसम्म पुग्न सफल भएको हो ।

प्रारम्भिक बयानमा मुख्य योजनाकार भण्डारीले हालसम्म २५ जनाको मिर्गौला झिकेको स्वीकार गरेको प्रहरीले जनाएको छ । भण्डारीका सहयोगी भारतीसहित राकेश नेपाली, समीर नेपाली, राजकुमार नेपाली, सविन पन्त र राजकुमार तामाङ पनि पक्राउ परेका छन् । तीमध्ये केही आफैँ पहिले पीडित रहेर पछि गिरोहमा संलग्न भएको तथ्य खुलेको छ ।

गिरोहले कतिपयलाई ६ लाख भारतीय रुपियाँ दिने भनी दिल्ली पु¥याएर मिर्गौला झिक्ने र कतिपयलाई भने रकम नदिइ नेपाल फर्काउने गरेको पाइएको छ । २०८१ साउनमा यही गिरोहले काठमाडौँका एक दम्पतीलाई भारत लगेर बेहोस पार्दै मिर्गौला झिकेको र घाइते अवस्थामा नेपाल पठाएको विवरणसमेत प्राप्त भएको छ ।

ब्युरोले भण्डारी, भारतीसहित सात जनाविरुद्ध चारवटा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको जनाएको छ । अवैध अङ्ग प्रत्यारोपणसम्बन्धी कसुरमा पछिल्ला सात वर्षमा मात्रै १४ वटा मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्