नुवाकोटको दुप्चेश्वरमा पहिरो, विद्यालय भवन र बस्ती जोखिममा
नुवाकोट,भदौ १६ । गए रातिको भीषण वर्षाका कारण दुप्चेश्वर गाउँपालिका–३ सरमथलीस्थित विद्यालय पहिरोको चपेटामा परेको छ । पहिरोका कारण विद्यालयको भवन, जग्गा–जमिनसँगै स्थानीय घरपरिवार उच्च जोखिममा परेको जनाइएको छ ।
कुमार थापा, गोकर्ण थापा र भगवान आधारभूत विद्यालय विशेष जोखिममा परेका छन् भने वरपरका घरहरू समेत खतरामा परेको गाउँलेहरूले बताएका छन् । स्थानीय बासिन्दा पहिरोको त्राससँगै चिन्तित बनेका छन् ।
सडक यातायात पनि प्रभावित बनेको छ । गगटे–गोल्फु भञ्ज्याङ सडकअन्तर्गत पर्ने समुद्रटार–राउतबेसी सडक पहिरोका कारण बन्द भएको र सडक खोल्ने प्रयास भइरहेको कालिका युवा क्लबका अध्यक्ष रविन्द्र केसीले जानकारी दिए ।
स्थानीयवासीले सम्बन्धित निकायको चाँडो ध्यानाकर्षण गराउँदै तत्काल उद्धार तथा जोखिम न्यूनीकरणका लागि पहल गर्न आग्रह गरेका छन् ।

