नुवाकोटमा शिक्षकहरूको आन्दोलन, शिक्षा ऐन जारी गर्न माग
नुवाकोट,भदौ १६। सरकारले गरेका सहमति बमोजिम शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नुवाकोटका शिक्षकहरूले चरणबद्ध आन्दोलन थालेका छन् । नेपाल शिक्षक महासङ्घको अगुवाइमा आइतबार शिक्षकहरूले शिक्षा विकास तथा समन्वय इकाई विदुरमा दुई घण्टा धर्ना दिएका छन् ।
शिक्षकहरूले सरकारलाई दबाब दिने उद्देश्यले धर्ना कार्यक्रम सञ्चालन गर्दै मागहरू पुरा गर्न ध्यानाकर्षण गराएका छन् । धर्नामा स्थायी, राहत, अस्थायी, करारलगायत सबै प्रकृतिका शिक्षक तथा कर्मचारीहरूको सहभागिता थियो । उनीहरूले निमित्त कार्यालय प्रमुख रामप्रसाद अधिकारीलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।
कार्यक्रममा सहभागी शिक्षकहरूले सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता नदिएको र शिक्षकहरूलाई अलमलाउने प्रयास गरेको आरोप लगाए । उनीहरूको भनाइअनुसार शिक्षासम्बन्धी कानुन निर्माण अब ढिलाइ गर्न नहुने अपरिहार्य विषय बनेको छ ।
शिक्षक महासङ्घले स्मरण गराएको छ कि शिक्षा मन्त्रालय र महासङ्घबीच भएको ९ बुँदे सहमति कार्यान्वयन हुनुपर्नेछ । माग पुरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी समेत शिक्षकहरूले दिएका छन् ।

