कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध, करोडौँ मूल्यबराबरको स्याउ कुहिने जोखिम



कर्णाली,भदौ १६। कर्णाली राजमार्ग अन्तर्गत गगने खोला खण्ड तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध हुँदा जुम्लाबाट स्याउ बोकेर गएका २० वटा ट्रक बाटोमै अलपत्र परेका छन् । सडक अबरुद्ध भएपछि करोडौँ मूल्य बराबरको स्याउ कुहिने जोखिम बढेको छ ।

नाग्म प्रहरी चौकीका असई यम शर्माका अनुसार भदौ १४ गतेदेखि १६ गतेसम्म जम्मा २० वटा ट्रकले जुम्लाबाट स्याउ बोकेर गएका थिए । ती ट्रकमध्ये न्यूनतम १२ क्विन्टलदेखि अधिकतम ४० क्विन्टलसम्म गरेर करिब ७०९ क्विन्टल स्याउ रहेको बताइएको छ ।

लगातार अवरुद्धका कारण स्याउ कुहिने अवस्था पुगेको व्यापारीहरू बताउँछन् । व्यापारी हरिसिंह नेपालीका अनुसार वर्षात सुरु हुने बित्तिकै सडकमा बाढी, पहिरो र अवरोध हुँदा प्रत्येक वर्ष करोडौँको क्षति हुँदै आएको छ । उनले ठूला ढुङ्गा फुटाउन ब्रेकरले नसकेपछि अब ब्लाष्टिङ गरेर मात्रै सडक खुलाउने तयारी भइरहेको जानकारी दिए ।

अर्का व्यापारी कालीबहादुर रोकायाले गत वर्षझैँ यसपालि पनि किसान र व्यापारीले सास्ती खेप्नुपरेको बताए । उनले ४ हजार किलो स्याउ बिक्रीका लागि ल्याए पनि सडक अवरोधका कारण कुहिने चिन्ता बढेको बताए । सडक बन्द हुँदा ठूलो संख्यामा मालवाहक तथा यात्रु बाहक गाडी पनि थन्किएका छन् ।

सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीका अनुसार गगने खोलामा खसेका ठूला ढुङ्गा ब्रेकरले फुटाउन नसकेपछि अब सेना र प्रहरी प्रशासनसँग समन्वय गरेर ब्लाष्टिङमार्फत सडक खुलाउने तयारी भइरहेको छ । निरन्तर वर्षाका कारण काममा ढिलाइ भए पनि आजै सडक खुलाउने प्रयास भइरहेको उनको भनाइ छ ।

गत वर्ष पनि भदौ १३ देखि १६ गतेसम्म कर्णाली राजमार्ग अवरुद्ध हुँदा ६३ वटा स्याउ ट्रक अलपत्र परेको र ठूलो आर्थिक क्षति भएको थियो । भौगोलिक कठिनाइ र अव्यवस्थित सडक निर्माणका कारण वर्षा सुरु भएलगत्तै कर्णाली राजमार्ग उच्च जोखिममा पर्ने गरेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्