अफगानिस्तानमा शक्तिशाली भूकम्प, ६ सयभन्दा बढीको मृत्यु
जलालाबाद (अफगानिस्तान),भदौ १६ – सोमबार राति आएको शक्तिशाली भूकम्पले अफगानिस्तानको पूर्वी क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ । गृह मन्त्रालयका अनुसार विपत्तिमा कम्तीमा ६१० जनाको मृत्यु भएको र करिब १,३५० जना घाइते भएका छन् ।
मध्यरातअघि आएको भूकम्पको धक्का राजधानी काबुलदेखि पाकिस्तानको इस्लामाबादसम्म महसुस गरिएको थियो । अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पको केन्द्र नङ्गरहार प्रान्तको जलालाबादबाट करिब २७ किलोमिटर टाढा, ८ किलोमिटर गहिराइमा थियो । सतह नजिकैको भूकम्प भएकाले क्षति ठूलो भएको बताइएको छ ।
गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीका अनुसार कुनार प्रान्तमा मात्रै ६१० जनाको मृत्यु भएको छ भने १,३०० भन्दा बढी घाइते भएका छन् । साथै नङ्गरहार प्रान्तमा १२ जनाको मृत्यु र २५५ जना घाइते भएको पुष्टि गरिएको छ । धेरै घरहरू भत्किएका कारण उद्धार कार्य जारी रहेको छ ।
तालिबान अधिकारीहरू र संयुक्त राष्ट्रसङ्घले प्रभावित क्षेत्रमा उद्धार टोली पठाएका छन् । संयुक्त राष्ट्रसङ्घले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेको र प्रभावितहरूलाई आपत्कालीन सहयोग तथा जीवनरक्षक सामग्री पठाइरहेको जनाएको छ ।
आइतबार राति ११:३० बजे ५.२ म्याग्निच्युडको अर्को भूकम्पसहित कैयौँ परकम्प महसुस गरिएको थियो । भूगर्भ विज्ञका अनुसार हिन्दुकुश पर्वत शृङ्खलामा पर्ने अफगानिस्तान युरेसियन र भारतीय टेक्टोनिक प्लेटको सङ्गम क्षेत्र भएकाले बारम्बार भूकम्प आउने गरेको छ ।
यसअघि पनि प्राकृतिक विपत्तिहरूले अफगानिस्तानमा ठूलो क्षति पु¥याउँदै आएका छन् । सन् २०२२ मा पक्तिका प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा एक हजारभन्दा बढीको मृत्यु भएको थियो भने लाखौँ विस्थापित भएका थिए ।
युद्धले जर्जर बनेको अफगानिस्तान अझै मानवीय सङ्कटको चपेटामा छ । तालिबान सत्तामा आएपछि विदेशी सहयोग घटेकाले प्रकोप व्यवस्थापनमा थप कठिनाइ भोगिरहेको अन्तर्राष्ट्रिय संस्थाहरूले बताएका छन् ।

