निजी विद्यालय सञ्चालकहरूको विरोधः नुवाकोटमा बस र्याली
नुवाकोट,भदौ १६– शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित विधेयक सच्याउन दबाब दिने उद्देश्यले निजी विद्यालय सञ्चालकहरूले आज नुवाकोटमा बस र्याली निकालेका छन्।
प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमए संयुक्त आन्दोलनअन्तर्गत गरिएको सो र्याली गगटेबाट सुरु भई बट्टार हुँदै विदुरमा पुगेको थियो। विदुरमा सडकमा बस तेर्स्याइएपछि केही समय यातायात अवरुद्ध समेत भएको थियो।
प्याब्सन विदुरका अध्यक्ष रामराजा कुमालले सरकारले ल्याएको विधेयकले निजी विद्यालयलाई अस्तित्व संकटमा पार्ने भन्दै दबाब दिनका लागि विरोध कार्यक्रम गरिएको बताए। र्यालीमा प्याब्सनका अध्यक्ष पुरुषोत्तम अधिकारी, विदुर प्याब्सनका अध्यक्ष रामराजा कुमालसहित विभिन्न पदाधिकारीहरूको उपस्थिति थियो।
निजी विद्यालय सञ्चालकहरूले गैरनाफामूलक भन्ने शब्द हटाउनुपर्ने, छात्रवृत्ति विद्यालयले आफैं तोक्न पाउने व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै निरन्तर आन्दोलन गरिरहेका छन्।
उनीहरूले माग सम्बोधन नभए आगामी भदौ १८ गतेदेखि विद्यालयको चाबी सरकारलाई बुझाएर सम्पूर्ण विद्यालय बन्द गर्ने चेतावनीसमेत दिएका छन्। भदौ ९ गतेदेखि निरन्तर आन्दोलनमा रहेका उनीहरूले यसअघि पनि देशभर विभिन्न कार्यक्रम गर्दै आएका छन्।

