आयात रोकिएको भेप देशभर तस्करीमार्फत पस्दै, करोडौँको सामान बरामद



काठमाडौँ, भदौ १७ — राजस्व विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा विद्युतीय चुरोट (भेप) आयातै भएको छैन । तर, पछिल्ला दिनमा ठूलो परिमाणमा विभिन्न स्थानबाट अवैध भेप बरामद भइरहेको छ ।

आइतबार मात्रै प्रहरीले काठमाडौँको चमतीबाट ३ हजार ८०५ थान भेपसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरू सिन्धुपाल्चोकका निमा छिरिङ शेर्पा, कृष्णबहादुर गुरुङ र रामबहादुर गुरुङ रहेका छन् । उनीहरूबाट राजस्व छली गरी भण्डारण गरिएको अवस्थामा भेप बरामद भएको हो ।

स्वास्थ्य मन्त्रालयले विद्यार्थीहरू भेपको लतमा फस्दै गएको जनाउँदै यसको कारोबार र ओसारपसारमै प्रतिबन्ध लगाउन माग गर्दै आएको छ । चीन निर्मित भेपमा भन्सार र अन्तःशुल्क महँगो पर्ने भएकाले तस्करीमार्फत ल्याउने गरिएको प्रहरीले जनाएको छ । भारतलगायत ४० देशमा पूर्ण प्रतिबन्धित भेप नेपाल हुँदै तिनै मुलुकमा पु¥याउने गिरोह सक्रिय रहेको स्रोतले बताएको छ । तर, पक्राउ पर्ने भने प्रायः सामान्य भरिया मात्र हुने गरेका छन् ।

गत साता दैलेखमा जडीबुटी बोकेको ट्रकभित्र लुकाइएका ३९ हजार ९ सय थान भेप बरामद भएको थियो, जसको मूल्य करिब १२ करोड रुपियाँ बराबर पर्छ । भदौ ७ गते बर्दियामा करिब ४८ लाख बराबरको भेप बरामद हुँदा भरियाहरू भाग्न सफल भएका थिए । यसअघि राजस्व अनुसन्धान विभागले ललितपुरको इमाडोलबाट ८६ हजार थान र बुटवलबाट दुई हजार ६ सय थान भेप बरामद गरेको थियो । पछिल्ला तीन वर्षमा मात्रै देशभरबाट झन्डै ७५ हजार थान भेप बरामद भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

सिल्क ग्रुपमार्फत अवैध आयात भएको खुलासा भएपछि विभागले अध्यक्ष रमेश शेर्पासहित १२ जनाविरुद्ध पौने दुई अर्ब जरिवाना र जेल सजाय माग गर्दै मुद्दा दायर गरेको छ । अनुसन्धानले सात कम्पनीमार्फत तीन लाख १६ हजार थानभन्दा बढी भेप अवैध रूपमा ल्याइएको समेत पत्ता लगाएको छ ।

भन्सार विभागका निर्देशक किशोर बर्तौलाका अनुसार भेपको आधिकारिक आयात एक वर्षदेखि रोकिएको छ । गत वैशाखमा स्वास्थ्य मन्त्रालयले आयात, बिक्री वितरण र प्रचारमा प्रतिबन्ध लगाउने निर्णय गरे पनि अदालतको अस्थायी आदेशले केही आयातकर्तालाई फाइदा पुगेको थियो । यसअघि त्रिभुवन विमानस्थल हुँदै भेपभित्र सुन तस्करीसमेत भएको खुलासा भएको थियो ।

प्रहरीका अनुसार भेप तस्करी नेपाल–चीन सीमावर्ती मुस्ताङको कोरोला, रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानीलगायत विभिन्न नाकाबाट भइरहेको छ । प्रहरी केन्द्रीय प्रवक्ता विनोद घिमिरेका अनुसार फरक–फरक नाका प्रयोग गर्दै संगठित गिरोहले ठूलो परिमाणमा भेप नेपाल भित्र्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्