भदौ ३० देखि देशभर सहुलियत मूल्य पसल सञ्चालन हुने



काठमाडौँ, भदौ १७ । सरकार आगामी भदौ ३० गतेदेखि चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।

दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन हुने सहुलियत मूल्य पसलमार्फत उपभोक्तालाई अति आवश्यक खाद्यवस्तुमा छुट दिइनेछ । खाद्य व्यवस्था कम्पनीले देशभर १११ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकासहित ३८ स्थानमा पसल सञ्चालन गर्ने तयारी गरेको छ ।

खाद्य व्यवस्था कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीमबहादुर थापाका अनुसार कम्पनीले साउन २६ गते नै छुट दर, पसल सङ्ख्या र स्थानसम्बन्धी प्रस्ताव मन्त्रालयमा पठाएको थियो, जसलाई मन्त्रीस्तरमा स्वीकृत गरिएको छ । कम्पनीका अनुसार चामल, दाल, नून, खानेतेललगायत खाद्यवस्तुमा प्रतिकेजी दुई रुपियाँदेखि १० रुपियाँसम्म छुट दिइनेछ ।

कम्पनीले कोशी प्रदेशमा ११ स्थान, मधेशमा तीन, बागमतीमा पाँच, गण्डकीमा सात र लुम्बिनीमा १५ स्थानमा पसल सञ्चालन गर्ने जनाएको छ । उता, साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकामा ११ स्थायी पसल र तीन मोबाइल भ्यानसहित १४ स्थानबाट सेवा दिनेछ ।

कर्पोरेसनका अनुसार चिनीमा प्रतिकेजी पाँच, नुनमा दुई, खानेतेल, चामल, चिउरा र पिठोलगायतमा प्रतिकेजी सात रुपियाँ छुट दिइनेछ । काठमाडौँ उपत्यकाभित्र कालीमाटी, सतुङ्गल, ललितपुर, बालाजु, गौशाला, कपन, कौशलटार, भक्तपुर, कोटेश्वर, जावलाखेल र स्वयम्भूका बिक्री केन्द्रमार्फत सहुलियत मूल्यमा खाद्यवस्तु उपलब्ध गराइनेछ । साथै, मोबाइल भ्यानमार्फत उपभोक्ताको मागअनुसार अन्य क्षेत्रमा पनि सेवा दिने तयारी गरिएको कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्