ओलीको जोड : विभाजन होइन साझेदारी, न्यायपूर्ण विश्व व्यवस्थाका लागि संयुक्त प्रयास आवश्यक
बेइजिङ, भदौ १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वलाई विभाजन होइन, साझेदारी आवश्यक रहेको बताउँदै क्षेत्रीय र विश्वव्यापी रूपमा संयुक्त रूपमा काम गरे मात्र न्यायपूर्ण, समावेशी, लचिलो व्यवस्था र दिगो विकास सम्भव हुनेमा जोड दिएका छन् ।
चीनको तियान्जिनमा सोमबार सुरु भएको शाङ्घाई सहयोग संगठन (एससिओ) को २५औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि र नवप्रवर्तनमा प्रगति भए पनि असमानता, जलवायु परिवर्तन, आर्थिक समस्या र द्वन्द्वका कारण ती उपलब्धि ओझेलमा परेको उल्लेख गरे । उनले चीनले अघि सारेको ‘ग्लोबल गभर्नेन्स इनिसियटिभ’ (जिजिआई) ले न्यायपूर्ण र समावेशी बहुपक्षीय प्रणाली निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले नेपाल सन् २०१६ देखि एससिओको संवाद साझेदार रहेको स्मरण गर्दै पूर्ण सदस्यता प्राप्त गर्ने आशा रहेको बताए । शान्ति र सुरक्षा सुनिश्चित नगरी दिगो विकास सम्भव नहुने भन्दै उहाँले आतङ्कवादविरुद्ध संयुक्त प्रयास आवश्यक रहेको औंल्याए । जलवायु परिवर्तनको जोखिम नेपालले हिमालको देशका रूपमा प्रत्यक्ष भोगिरहेको उल्लेख गर्दै उहाँले सामूहिक रूपमा चुनौती सामना गर्नुपर्नेमा जोड दिए ।
यसैबीच, शिखर सम्मेलनको अवसरमा प्रधानमन्त्री ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. महानेट र लाओसका राष्ट्रपति थोन्ङलौन सिसौलिथसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरे ।
राष्ट्रपति पुटिनसँगको भेटमा नेपाल–रूस सम्बन्ध सुदृढ बनाउने, व्यापार, लगानी, शिक्षा, संस्कृति र हवाई सम्पर्कमा सहयोग प्रवद्र्धन गर्नेबारे छलफल भएको थियो । माल्दिभ्सका राष्ट्रपति मिज्जुसँगको भेटमा जलवायु परिवर्तनका असर र ठूलो मुलुकको जिम्मेवारीबारे समान धारणा व्यक्त गरिएको थियो । कम्बोडियाका प्रधानमन्त्रीसँग व्यापार तथा लगानी विस्तार र उच्चस्तरीय भ्रमण आदानप्रदानबारे कुराकानी भएको थियो भने लाओसका राष्ट्रपति सिसौलिथसँग साझा चासोका विषयमा सहकार्य बढाउनेबारे छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, शिक्षा मन्त्री रघुजी पन्त, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राई र चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीलगायत सहभागी छन् ।

