अष्ट्रेलियाबाट नेपाली क्रिकेट टोली स्वदेश फर्कियो



काठमाडौँ,भदौ १७ । अष्ट्रेलियामा टप एन्ड टी–२० सिरिज र अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मङ्गलबार स्वदेश फर्किएको छ ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए । ११ टोली सहभागी टप एन्ड टी–२० सिरिजमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । त्यसपछि टोलीले पाँच वटा अभ्यास खेल खेलेको हो ।

अभ्यास खेलअन्तर्गत नेपालले अष्ट्रेलियाको स्थानीय क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध खेलेका दुई टी–२० खेलमा जित निकालेको थियो । तर, साउथ अष्ट्रेलियाविरुद्धका दुई टी–२० खेलमा हार बेहोर्नु परेको थियो । यद्यपि, साउथ अष्ट्रेलियाविरुद्धको एकदिवसीय अभ्यास खेलमा नेपाल दुई विकेटले विजयी भएको थियो ।

आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको तयारीका लागि नेपालले अष्ट्रेलियामा टप एन्ड टी–२० सिरिज र अभ्यास खेल खेलेको हो ।

प्रतिक्रिया दिनुहोस्