निजामती सेवा विधेयक राष्ट्रियसभाको विधायन समितिबाट सर्वसम्मत पारित
काठमाडौँ,भदौ १७ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सङ्घीय निजामती सेवा विधेयक सर्वसम्मत रूपमा पारित भएको छ । समितिको मंगलबार बसेको बैठकले प्रतिवेदन पारित गरेको हो ।
प्रतिवेदनअनुसार निजामती कर्मचारीको अवकाश उमेर हदलाई प्रतिनिधि सभाबाट पारित प्रस्तावकै आधारमा क्रमशः लागू गर्ने सहमति गरिएको छ । सो व्यवस्था अनुसार विधेयक लागू भएको पहिलो वर्ष ५८, दोस्रो वर्ष ५९ र तेस्रो वर्षदेखि ६० वर्षमा अवकाश उमेर पुग्ने प्रावधान हुनेछ ।
त्यस्तै, समितिले सह–सचिवमा १० प्रतिशत पद खुला प्रतिस्पर्धाबाट भर्न सकिने व्यवस्था कायम राखेको छ । नायव सुब्बा पदमा भने ८० प्रतिशत बढुवा, १० प्रतिशत अन्तर तह र १० प्रतिशत खुला प्रतिस्पर्धाबाट हुने गरी व्यवस्था थप गरिएको छ । प्रतिनिधि सभाले यसअघि सह–सचिव र नायव सुब्बामा खुला प्रतिस्पर्धा हटाएको थियो ।
यस्तै, समितिले २ वर्षे ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानलाई यथावत राख्दै प्रतिनिधि सभाबाट भएको त्रुटि सच्याएको छ ।
बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले अवकाश उमेरसम्बन्धी विवाद समाधान गर्न प्रतिनिधि सभाबाट प्राप्त प्रतिवेदनअनुसार नै अघि बढ्न प्रस्ताव गरेका थिए ।

