वर्ष सरदरभन्दा कम वर्षा, दशैँमा मनसुनकै वर्षा पर्न सक्ने अनुमान
काठमाडौँ,भदौ १७ । नेपालमा यस वर्ष मनसुन अवधिमा सरदरभन्दा कम मात्रामा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुन सुरु भएदेखि अहिले सम्म ८२.३ प्रतिशत मात्र वर्षा भएको छ, जुन सरदरभन्दा कम हो ।
विभागकी प्रवक्ता सिनियर डिभिजनल मेटेरियोलोजिष्ट विभूति पोखरेलका अनुसार देशका अधिकांश स्थानमा ठूलो वर्षा नभए पनि आगामी दिनमा वर्षा हुने सम्भावना अझै बाँकी छ । दशैँ मनसुन अवधिमै परेकाले चाडपर्वमा पानी पर्न सक्ने अवस्था रहेको उनले बताइन् ।
“पछिल्लो १०–१२ वर्षको प्रवृत्ति हेर्दा मनसुन अक्टोबरसम्म धकेलिएको पाइन्छ, त्यसैले यो वर्ष पनि दशैँमा वर्षा पर्न सक्ने सम्भावना छ,” पोखरेलले भनिन् ।
जलवायु विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार हाल समुद्री सतहमा एल निनो न्यूट्रल अवस्थामा रहेकाले बढी वर्षा हुन नसकेको हो । “यो दशैँ मनसुनकै अवधिमा परेकोले वर्षा भइहाल्ने सम्भावना छ, जसले गर्दा दशैँ ‘मनसुनमय’ बन्न सक्छ,” उनले भने ।
नेपालमा मनसुन सामान्यतया जुन १३ मा भित्रिएर अक्टोबर २ देखि १५ भित्र बाहिरिने गर्दछ । पछिल्ला वर्षहरूमा भने अक्टोबरको दोस्रो सातासम्म मनसुन जारी रहने गरेको देखिएको छ ।
यसैबीच, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आगामी २४ घण्टामा ती प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ भने अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
बुधबार देशका पहाडी भू–भागका केही तथा तराईका थोरै ठाउँमा मध्यम वर्षा, साथै बागमती प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

