नुवाकोट भद्रुटारमा सुख्खा पहिरोले ११ केभी प्रसारण लाइन बन्द, पूर्वी क्षेत्र अन्धकारमय
नुवाकोट,भदौ १७ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ मिश्रको पधेरोमा सुख्खा पहिरो खस्दा ११ केभी प्रसारण लाइन पूर्णरूपमा अवरुद्ध भएको छ ।
स्थानीय शिक्षक भैरव श्रेष्ठका अनुसार मंगलबार साँझ पहिरोका कारण बिजुलीका पोल भासिएका र तार यत्रतत्र छरिएका छन् । घटनापछि नेपाल विद्युत प्राधिकरणलाई तत्काल जानकारी गराइएको उनले बताए ।
विद्युत आपूर्ति बन्द भएपछि जिल्लाको सुदूरपूर्वी क्षेत्र अन्धकारमय बनेको छ । पञ्चकन्या–५ को आधा क्षेत्र र शिवपुरी गाउँपालिकाको वडा नं. ८ बाहेक सबै क्षेत्रमा विद्युत आपूर्ति ठप्प भएको छहरे फ्युज शाखाका गोविन्द आचार्यले जानकारी दिए ।
रातिको समय भएकाले क्षति मूल्यांकन र मर्मत कार्यमा कठिनाइ भएको प्राधिकरणले जनाएको छ । भोलि बिहान मात्र क्षतिको अध्ययन गरी मर्मत कार्य सुरु गर्ने तयारी भइरहेको आचार्यले बताए ।

