शिवपुरी ८ चैजुका महिलाले अकबरे खुर्सानी उत्पादनबाट आम्दानी गर्न थाले



• भरतसन्तोषी लामा

नुवाकोट,भदौ १७ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ चैजु गाउँका महिलाहरूको जीवनमा अहिले नयाँ उमंग छ । बिहान सबेरै खेतबारीमा काम गर्ने, दिउँसो टोकरीमा राताम्य अकबरे खुर्सानी संकलन गर्ने र बेलुकी बजार पठाउन तयारी गर्ने दैनिकी उनीहरूको पहिचान बनेको छ । सृष्टि महिला समूह र नारनथान महिला समूहका सदस्यहरूले आफ्नो श्रमले उब्जाएको अकबरे खुर्सानी अहिले बजारमा पुर्‍याउन लागेका छन् । यो दृश्य हेर्दा कुनै साधारण गाउँको सामान्य काम होइन, महिलाको आत्मनिर्भरता र आत्मविश्वासको कथा देखिन्छ ।

घरायसी काममै सीमित जीवन बिताउँदै आएका यी महिलाहरू अहिले आफ्नो उत्पादन बिक्री गरेर आम्दानी गर्न थालेका छन् । “पहिला पैसा कमाउने सोच नै थिएन, तर अब खुर्सानी खेतीले हामीलाई आम्दानी मात्र होइन, आत्मविश्वास पनि दिएको छ,” भन्छिन् कान्छीमाया तामाङ  । उनीहरूको अनुहारमा देखिने उत्साह स्थानीय सरकारको सहायताले सुरु भएको यो यात्राको उपलब्धि हो ।

शिवपुरी गाउँपालिकाले सञ्चालन गरेको कृषि रूपान्तरण परियोजनाले महिलाहरूलाई आयआर्जनतर्फ आकर्षित गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष गोबिन्दप्रसाद थपलियाको नेतृत्वमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा प्राथमिकता दिइएको छ । गाउँ–गाउँमा क्लिनिक सञ्चालन गरेर स्वास्थ्य सेवा पुर्‍याउने, विद्यालय सुधारका कार्यक्रम सञ्चालन गर्ने र कृषि क्षेत्रमा अकबरे खुर्सानी खेतीसँगै बाख्रापालन, घाँसको बीउ वितरण र दुग्ध उत्पादन वृद्धिका प्रयासले स्थानीयहरूमा भरोसा बढाएको छ ।

चैजुका महिलाहरूको सफलताले देखाएको छ कि स्थानीय सरकारले महिलालाई अवसर र बाटो देखाइदिए उनीहरू आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्छन् । खुर्सानी खेतीले गाउँमै रोजगारी सिर्जना गरेको छ र महिलाहरूलाई आफ्नै मेहनतले परिवारको आयआर्जनमा योगदान गर्न सकिन्छ भन्ने आत्मविश्वास दिएको छ । अकबरे खुर्सानीको उत्पादनसँगै उनीहरूको संघर्ष र सफलताको कथा गाउँभरि फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्