वीरगञ्जमा हैजा नियन्त्रणतर्फ, ९३ प्रतिशतभन्दा बढी बिरामी निको



वीरगञ्ज, भदौ १८। वीरगञ्जमा भदौ ६ गते पहिलोपटक तीन जनामा हैजा पुष्टि भएपछि फैलिएको झाडापखाला र हैजाको सङ्क्रमण क्रमशः कम हुँदै गएको छ । मंगलबार साँझ ५ बजेसम्म हैजाको सङ्क्रमण पुष्टि भएका ९३ प्रतिशतभन्दा बढी बिरामी उपचारपछि निको भई घर फर्किएका छन् ।

नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार दैनिक अस्पताल पुग्ने हैजा संक्रमितको संख्या घट्दै गएको छ भने धेरै उपचाररत बिरामी निको भएर घर फर्किरहेका छन् । उनले भने, “यस्तै अवस्था रहने हो भने अबको तीन–चार दिनभित्र अस्पतालमा हैजा संक्रमित बाँकी रहने छैनन्, हैजा पूर्णरूपमा नियन्त्रणमा आउँछ ।”

नारायणी अस्पतालमा उपचार गराइएका बिरामीलाई औषधि तथा सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराइएको छ । अन्य अस्पतालमा भने त्यस्तो सुविधा नपाएको बिरामीहरूले बताएका छन् । कुल ९१२ संक्रमितमध्ये नारायणी अस्पतालमा मात्र ४८५ जना भर्ना भई उपचार गराएका थिए ।

विशेषज्ञहरूका अनुसार बिरामी संख्या घट्नु र निको हुने दर बढ्नु हैजा नियन्त्रणतर्फको सकारात्मक संकेत हो ।

प्रतिक्रिया दिनुहोस्