नुवाकोटमा निजामती सेवा दिवसको अवसरमा स्वास्थ्य परीक्षण
नुवाकोट, भदौ १८। निजामती सेवा दिवस–२०८२ का अवसरमा नुवाकोटको विदुरमा कर्मचारी तथा सेवाग्राहीहरूको कार्यालय परिसरमै स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा मंगलबार आयोजित कार्यक्रममा सेवाग्राही तथा कर्मचारीहरूको स्वास्थ्य परीक्षण, उपचार र आवश्यक औषधि निःशुल्क प्रदान गरिएको हो ।
त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामासहितको १२ जनाको स्वास्थ्य प्राविधिक टोलीले एकै दिन १४८ जनाको स्वास्थ्य परीक्षण गरेको जनाएको छ । परीक्षणमा जनस्वास्थ्य, आयुर्वेद तथा त्रिशूली अस्पतालका स्वास्थ्यकर्मीहरू संलग्न रहेका थिए ।
निजामती सेवा दिवस मूल समारोह समितिका सदस्य सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंका अनुसार यस पटक विशेषगरी नसर्ने रोगहरूको स्वास्थ्य परीक्षणमा जोड दिइएको थियो । उनका अनुसार सेवाग्राही र कर्मचारीहरूले स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधि पनि निःशुल्क पाएका छन् ।
कार्यालयमा प्रशासनिक कामका लागि आएका सेवाग्राहीहरूले प्रशासनकै मूल ढोकामा स्वास्थ्य परीक्षण गरी औषधि पाउँदा खुसी व्यक्त गरेका छन् । यसअघि जिल्लाका विभिन्न सरकारी कार्यालयका १८ जना कार्यालय प्रमुखहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।
कार्यक्रम अन्तर्गत मधुमेह, रक्तचाप, तौलअनुसारको उचाइ लगायतका स्वास्थ्य परीक्षणहरू गरिएको थियो । यसैबीच कर्मचारी मिलन केन्द्र नुवाकोटले साताव्यापी विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइरहेको छ । सोही क्रममा कर्मचारी मिलन केन्द्रको आयोजनामा र त्रिशूली अस्पतालको समन्वयमा कार्यालय प्रमुखहरूको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो ।
उक्त परीक्षणकै आधारमा आगामी निजामती सेवा दिवसको कार्यक्रममा “स्वास्थ्य कार्यालय प्रमुख पुरस्कार” प्रदान गरिने डा. राजेन्द्र लामाले जानकारी दिए ।

