प्रधानमन्त्री ओली एससिओ शिखर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किँदै
काठमाडौं,भदौ १८। प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किन लागेका छन् ।
प्रधानमन्त्री ओली भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिनतर्फ प्रस्थान गरेका थिए । भ्रमणका क्रममा उहाँले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए भने शिखर सम्मेलनलाई सम्बोधन समेत गरेका थिए ।
नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ । सन् २००१ मा स्थापना भएको एससिओ हाल विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनमध्ये एक बनेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्र हुन् । अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्र रहेका छन् भने नेपालसहित टर्की, श्रीलङ्का, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, माल्दिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संवाद साझेदारका रूपमा रहेका छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरेका थिए । यस्तै, उनले रूसी राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री ओलीसँग धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारी पनि सहभागी छन् ।

