चीनको सैन्य परेडमा पुटिन र किमको सहभागिता
बेइजिङ,भदौ १८ । उत्तर कोरियाली नेता किम जोङ–उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको सबैभन्दा ठूलो सैन्य परेडमा सहभागिता जनाए ।
चीनले सन् १९४५ मा जापानलाई पराजित गर्दै प्राप्त गरेको विजयको ८०औँ वार्षिकोत्सव अवसरमा विशाल सैन्य परेड आयोजना गरेको हो । यस दिनलाई चीनले विशेष वार्षिकोत्सवका रूपमा मनाउँदै आएको छ ।
परेडमा चीनले आफ्नो आधुनिक एचक्यु–९सी मिसाइल प्रणालीसहित विभिन्न सैन्य उपकरण प्रदर्शन गर्यो । पाकिस्तानले यस प्रणालीको संस्करण प्राप्त गरेको र ‘अपरेसन सिन्दूर’ मा प्रयोग भए पनि भारतीय मिसाइल आक्रमण रोक्न असफल भएको पाकिस्तानी मिडियाले उल्लेख गरेको छ ।
कार्यक्रममा सहभागी चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई ‘अजेय’ राष्ट्रका रूपमा प्रस्तुत गर्दै शान्तिपूर्ण विकासप्रतिको आफ्नो दृढता दोहोर्याए । उनले भने,“चीन शान्तिपूर्ण विकासको बाटोमा अडिग रहनेछ । चिनियाँ राष्ट्रको कायाकल्प रोक्न सकिँदैन र मानवताको शान्ति तथा विकासको लक्ष्य प्रबल हुनेछ ।”

