शिवपुरी–८ मा घरदैलो पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण
नुवाकोट, भदौ १८ । शिवपुरी गाउँपालिका–८ वडा कार्यालयले घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण सम्पन्न गरेको छ ।
वडा सचिव निरुता पहाडी र कार्यालय सहयोगी देवीबहादुर उप्रेतीसहितको टोलीले भदौ १७ र १८ गते काफलडाँडा र सत्तरीका अशक्त ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विधवा (एकल महिला) को घरमै पुगेर नवीकरण सेवा प्रदान गरेको हो । यस क्रममा २३ जनाको बायोमेट्रिक प्रणालीमार्फत नविकरण गरिएको छ ।
स्वास्थ्य चौकी इन्चार्ज उद्धव कार्की नेतृत्वको अर्को टोलीले लाभग्राहीहरूको स्वास्थ्य परीक्षणसमेत गरेको थियो । घरमै पुगेर सेवा दिएकामा स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।
वडा अध्यक्ष केशवप्रसाद रिजालले शारीरिक रूपमा अशक्त आमाबुबा र अपाङ्गता भएका नागरिकलाई सहज बनाउन घरदैलोमै सेवा दिनु वडाको जिम्मेवारी भएको बताए । अहिलेसम्म करिब ३२० जनाको सामाजिक सुरक्षा भत्ता नवीकरण भइसकेको वडा कार्यालयले जानकारी दिएको छ ।
भदौ महिनाको अन्त्यसम्म सम्पूर्ण लाभग्राहीको नवीकरण सम्पन्न गर्नुपर्ने भएकाले बाँकी लाभग्राहीलाई वडा कार्यालयमै उपस्थित भई नवीकरण गर्न र काठमाडौं वा अन्य स्थानमा रहेका शिवपुरी–८ का लाभग्राहीलाई आफु बस्ने वडाबाटै नविकरण गर्न कार्यालयले अनुरोध गरेको छ ।

