प्रधानमन्त्री ओली चीन भ्रमण सकेर स्वदेश फर्किए
काठमाडौँ, भदौ १८ । प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिएर बुधबार स्वदेश फर्किएका छन्।
प्रधानमन्त्री ओली २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ गते चीनको तियाञ्जिन गएका थिए। भ्रमणका क्रममा उनले चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विभिन्न विश्व नेताहरूसँग भेटवार्ता गरेका थिए। यस्तै, भदौ १६ गते तियाञ्जिनमा आयोजना भएको शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्याललगायतले स्वागत गरेका थिए। स्वागतका क्रममा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो। साथै नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि विमानस्थलमा उपस्थित थिए।
स्वदेश फर्कनुअघि प्रधानमन्त्री ओलीले आजै बेइजिङमा आयोजित दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव तथा विशेष सैनिक परेडमा पनि सहभागिता जनाएका थिए।
सन् २००१ मा स्थापना भएको एससिओ हाल चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान र बेलारुसका पूर्ण सदस्य राष्ट्रसहित विश्वकै ठूलो क्षेत्रीय सङ्गठनको रुपमा विकसित भएको छ। अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्र छन् भने नेपालसहित टर्की, श्रीलङ्का, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संवाद साझेदार रहेका छन्।
प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारी सहभागी थिए।

