नागरिकतासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत



काठमाडौँ, भदौ १८ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ मा राष्ट्रियसभाबाट भएका संशोधनलाई बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री रमेश लेखकले प्रस्ताव पेस गर्नुभएको उक्त विधेयक आमाको नामबाट नागरिकता दिने व्यवस्था सहित ऐतिहासिक मानिने गरी अघि बढाइएको छ।

विधेयक २०८१ माघ १५ गते प्रतिनिधिसभामा दर्ता भएको थियो भने सामान्य छलफल, समितिमा दफावार छलफल र प्रतिवेदनसहितको प्रस्तुतिका विभिन्न चरण पार गर्दै गत असार १४ गते प्रतिनिधिसभाबाट पारित भएको हो। राष्ट्रियसभाले भदौ ६ गते पारित गरी सन्देशसहित फिर्ता पठाएपछि पुनः प्रतिनिधिसभाले अनुमोदन गरेको हो।

सांसदहरूले उठाएका जिज्ञासाको जवाफमा गृहमन्त्री लेखकले संविधानमा भएको व्यवस्था अनुसार आमाको नामबाट नागरिकता दिन सकिने प्रावधानलाई व्यवहारमा उतार्न यो विधेयक महत्त्वपूर्ण रहेको स्पष्ट पारे। उनका अनुसार बाबुको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता दिन सकिने व्यवस्थाले नागरिकताको सवालमा ऐतिहासिक मोड ल्याएको छ।

यस विधेयकले विदेशमा जन्मिएका सन्तानलाई नागरिकता दिने, प्रक्रियागत सरलीकरण गर्ने र जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई पनि नागरिकता दिन सक्ने व्यवस्था गरेको छ। गृहमन्त्रीले गैरनेपालीले नागरिकता नपाउने प्रष्ट पार्दै गैरआवासीय नेपालीका हकमा छुट्टै कानुन ल्याइने जानकारी दिए ।

सांसद वासुदेव घिमिरे, श्यामकुमार घिमिरे, अमरेशकुमार सिंह, मैना कार्की, प्रतिमा गौतमलगायतले यस विधेयकलाई नागरिकता प्राप्तिमा देखिएको समस्या समाधान गर्ने महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गर्दै सरकारलाई धन्यवाद दिए । तर, सांसद रञ्जुकुमारी झा र पूर्णबहादुर घर्तीले सीमावर्ती क्षेत्रमा गलत प्रयोग हुनसक्ने सम्भावना र स्वघोषणा प्रावधानको कमजोरीतर्फ ध्यानाकर्षण गराए ।

सांसद हितराज पाण्डेले महिलाको सम्मान र लैङ्गिक समानताको पक्षलाई विधेयकले बल दिएको बताए भने अन्य सांसदहरूले पनि नागरिकतालाई सहज, स्पष्ट र न्यायपूर्ण बनाउन यो ऐतिहासिक विधेयक भएको धारणा राखे।

प्रतिक्रिया दिनुहोस्