एमालेको दस्तावेजमा होइन, निर्णयमाथि फरक मत छ: महासचिव पोखरेल



काठमाडौँ, भदौ १८ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि कुनै फरक मत नरहेको स्पष्ट पारेका छन् । बुधबार च्यासलस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी उहाँले सो धारणा राखेका हुन् ।

महासचिव पोखरेलले एमाले उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पूर्व राष्ट्रपति पार्टी राजनीतिमा फर्कन नहुने तथा नवीकरण गर्ने विषय अस्वीकार गर्नुपर्ने केन्द्रीय कमिटीको निर्णयप्रति असहमति राखे पनि त्यो दस्तावेजप्रति नभई निर्णयप्रति मात्र भएको बताए। उनका अनुसार फरक मतबारे छलफल गर्ने वा नगर्ने टुंगो तत्काल सचिवालय बैठकले गर्नेछ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २० देखि २२ गतेसम्म हुने महाधिवेशनमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नेछन् भने महासचिव पोखरेलले सङ्गठनात्मक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्तावको संयोजन गरी प्रस्तुत गर्नेछन्। स्थायी कमिटी सदस्य कर्ण थापाले पनि विधानसँग सम्बन्धित विषयमा फरक मत राख्ने सम्भावना रहेको उनले जानकारी दिए ।

महासचिव पोखरेलले महाधिवेशनका लागि प्रतिनिधिबाट शुल्क नउठाइने निर्णय गरिएको जनाउँदै व्यवस्थापन खर्च पार्टी केन्द्रले बेहोर्ने जानकारी दिए। उनले पार्टीका तीन प्रमुख दस्तावेज—राजनीतिक प्रस्ताव, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव—माथि छलफल हुने स्पष्ट पारे ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार महाधिवेशनमा दुई हजार २६ प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कुल दुई हजार ३४१ जना सहभागी हुनेछन्। महाधिवेशनमा अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषदका अध्यक्षहरूले प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। प्रस्तुत हुने प्रस्तावमाथि समूहगत छलफल हुने व्यवस्था मिलाइएको जनाइएको छ।

पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य लालबाबु पण्डित, पोलिटब्युरो सदस्य विशाल भट्टराईलगायतका नेताहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्